आज तमु ल्होसार पर्व भव्य रूपमा मनाइदैँ
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व भव्य रूपमा मनाइरहेका छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ। गुरुङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाउने परम्परा छ।
तमु ल्होसार सूर्यको गतिसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडै पुग्ने विश्वासअनुसार पुस महिनामा यो पर्व मनाइने गरिएको हो।
यसैगरी, तामाङ र शेर्पा समुदायको बसोबास बढी रहेका क्षेत्रमा सूर्यको ताप क्रमशः पछि पुग्ने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाइने विश्वास रहेको जानकारहरू बताउँछन्।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन क्रमशः लामो तथा रात छोटो हुँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्व रहेको उल्लेख गरिन्छ। तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यस अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायको विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा गुरुङ समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन्। साथै, गुरुङ समुदायका मौलिक परिकारहरूको प्रदर्शनी पनि गरिएको छ।
यसैबीच, आइतबारदेखि टुँडिखेलमा सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस