Techie IT
२०८३ श्रावण १५, शुक्रबार

आज साउन १५: नेपाली मौलिक परम्पराअनुसार खिर खाएर मनाइँदै "खिर दिवस"


नेपाली समाजमा आज साउन १५ गते खिर खाएर मनाइँदै छ । वर्षायामको झरीमा तातो खिरको सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने जनविश्वासका साथ प्राचीनकालदेखि नै नेपालीहरूले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउँदै आएका छन् ।

संस्कृतमा ‘पायस’ भनिने खिरलाई सात्विक आहारमध्ये उत्तम मानिन्छ । वैदिक शास्त्रअनुसार पितृ र देवकार्यमा पायसको विशेष स्थान छ । साउन महिना भगवान् शिवको प्रिय महिना भएकाले पनि यस अवधिमा दूध र दूधजन्य परिकारको महत्त्व बढी हुन्छ । यद्यपि, साउन १५ मै खिर खानुपर्ने कुनै शास्त्रीय लिखित प्रमाण नभए पनि यो नेपाली समाजको मौलिक सांस्कृतिक परम्पराका रूपमा स्थापित भइसकेको छ ।

खिर खाने चलनका व्यावहारिक कारण:
खेतीपातीको समापन: साउनको मध्यसम्ममा गाउँघरमा धान रोपाईं लगायतका खेतीपातीका काम सकिन्छन् ।
दूधको उपलब्धता: हरियाली बढेसँगै गाईभैँसीले प्रशस्त घाँस खान पाउँछन् र दूध उत्पादन पनि वृद्धि हुन्छ । दूध बढी भएको समयमा इष्टमित्र र छरछिमेकीलाई डाकेर खिर खुवाउने परम्परा बसेको हो ।

मौलिक खाद्य संस्कृति: नेपाली समाजमा असार १५ मा दही–चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा खाने मौलिक चलन छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खिर दिवस’का रूपमा मनाउने निर्णय गरेसँगै यसले संस्थागत रूप पनि लिएको छ । यस वर्ष आठौँ खिर दिवस मनाइँदै छ । बोर्डका अनुसार दूधमा पाइने चिल्लो, ल्याक्टोज र प्रोटिनले मानव स्वास्थ्यलाई आवश्यक पर्ने क्यालोरी शक्ति प्रदान गर्दछ ।

नेपाली बृहत् शब्दकोशले खिरलाई ‘दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ’ भनी परिभाषित गरेको छ । आजको दिन मानिसहरू चामल, सावदाना, सेवइ, मकै वा गाजरको खिर बनाएर देवतालाई चढाउने र परिवारका सदस्यहरूसँग मिलेर खाने गर्दछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट