अपिहिमाल पर्यटन उत्सव मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने
दार्चुलाको अपिहिमाल गाउँपालिकाले यो आर्थिक वर्षमा कम्तीमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘अपिहिमाल पर्यटन उत्सव–२०८३’ आयोजना गर्ने भएको छ । गाउँपालिकाको वडा नं. १ स्थित अपिहिमाल आधार शिविरमा आगामी कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने भव्य उत्सव सञ्चालन हुन लागेको हो।
उत्सवको पूर्वसन्ध्यामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका थिए । अपिहिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले यो उत्सव आयोजना गर्न लागिएको अध्यक्ष बोहराले बताएका छन्।
गाउँपालिकाले उत्सवलाई केवल औपचारिक कार्यक्रममा मात्र सीमित नराखी पर्यटनबाट स्थानीय आयआर्जन, दिगो रोजगारी र मौलिक संस्कृतिको संरक्षण गर्ने अभियानका रूपमा अघि सारेको छ।
उत्सवको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुने निश्चित भएको छ। मुख्यमन्त्रीका स्वकीय सचिव शंकर भण्डारीका अनुसार उहाँको सहभागिता निश्चित भइसकेको छ। उत्सवको दोस्रो दिन हुने खेलकुद कार्यक्रमको उद्घाटन भने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने गाउँपालिकाले जनाएको छ। कार्यक्रममा विभिन्न प्रदेशका मन्त्री, सांसद, जनप्रतिनिधि र पर्यटन व्यवसायीसहित करिब पाँच सय विशिष्ट पाहुनालाई निमन्त्रणा गरिएको छ।
तीनदिने उत्सवको पहिलो दिन (कात्तिक १७) उद्घाटन समारोह, सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम र सांगीतिक प्रस्तुति रहनेछन्। दोस्रो दिन (कात्तिक १८) उच्च उचाइ (हाई अल्टिच्युड) मा मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। तेस्रो दिन (कात्तिक १९) योग तथा ध्यान शिविरका साथै हिमाली वातावरणमा जलवायु परिवर्तनको प्रभावबारे ‘जलवायु संवाद’ आयोजना गरी उत्सवको समापन गरिनेछ।
आधार शिविर क्षेत्रमा पर्यटकको चापलाई ध्यानमा राख्दै होमस्टे र होटलको दररेट सार्वजनिक गरिएको छ भने आवश्यकता अनुसार थप टेन्ट र टहरा निर्माणको पूर्वतयारी गरिएको छ। पदमार्गका मकरीगाड, घुसा र सितिमा हेल्प डेस्क तथा धौलीओडार र आधार शिविरमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखिनेछ। उच्च उचाइमा हुन सक्ने स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न प्राथमिक उपचार सामग्री र पोर्टेबल अक्सिजन सिलिन्डरको व्यवस्था मिलाइएको छ।
सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइने गाउँपालिकाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस