Techie IT
२०८३ असोज ४, आइतबार

भक्तपुरमा वर्षौँदेखि हराउँदै गएको लाखेनाच पुनः सुरु


इन्द्रजात्राका अवसरमा भक्तपुरमा वर्षौँदेखि हराउँदै गएको लाखेनाच पुनः सुरु गरिएको छ। लामो समयदेखि लोप हुन लागेको यो परम्परालाई जगेर्ना गर्ने उद्देश्यले रञ्जितकार समाजको पहलमा आज पहिलो दिन चाँगुनारायण नगरपालिकास्थित लाखेडोलबाट पूजाअर्चना गरी लाखे निकालिएको छ ।

खरिपाटीबाट सुरु भएको लाखेनाच कमलविनायक हुँदै गोलमढीस्थित लाखे द्यो छे सम्म प्रदर्शन गरिएको थियो। नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किंवदन्तीसँग गहिरो रूपमा जोडिएको लाखेनाच भक्तपुरमा विशेष महत्वका साथ लिने गरिन्छ। सिम्रौनगढका राजा हरिसिंहदेव तथा तलेजु भवानीसँग ख्वपः लाखेको लामो इतिहास जोडिएको छ।

संस्कृतिकर्मी गोपालराज जोशीका अनुसार तेह्रौँ शताब्दीतिर बङ्गाली मुस्लिम शासक गयासुद्दिन तुगलकको आक्रमणपछि सिम्रौनगढबाट पलायन भएका हरिसिंहदेवको बाटोमै निधन भएपछि उनकी रानी देवलदेवी र राजकुमार जगतसिंहदेव भक्तपुर आइपुगेका थिए। सिम्रौनगढबाट तान्त्रिक विधिद्वारा भक्तपुर ल्याइएको तलेजु भवानीसँगै लाखे पनि आएको मान्यता छ।

तलेजु भवानीको गण तथा रक्षकका रूपमा लाखेलाई लिइने भएकाले भक्तपुरको यो परम्परालाई तलेजु संस्कृतिसँग जोडेर हेर्ने गरिएको छ। लाखेलाई तलेजु भवानीको रक्षक गण तथा असल चरित्रको निष्कर्षसहित केही शर्तमा नगर प्रवेशको अनुमति दिइएको किंवदन्ती छ। येन्या पुन्हीका दिन लाखेले राजमाता इन्द्रायणीसँगै भक्तपुर नगर परिक्रमा गर्ने र इन्द्रसिद्धि विनायकको छत्रछायामा रहने परम्परा रहेको जनविश्वास छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट