ट्रम्पको दबाबपछि रुसी तेल केन्द्रमाथिको कारबाही रोकियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीव्र दबाब र वासिङ्टनसँगको सम्बन्धमा चिसोपन आएसँगै युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गरी गर्दै आएको ड्रोन आक्रमण तत्कालका लागि रोकेको छ।
द वाल स्ट्रिट जर्नलले युक्रेनी सैन्य कारबाहीबारे जानकार अधिकारीहरूलाई उद्धृत गर्दै गत साताको सुरुदेखि नै रुसी तेल पूर्वाधारहरूमाथिका आक्रमणहरू रोकिएको जनाएको छ। यो अनौपचारिक स्थगन अमेरिकामा हुने आगामी संसदीय निर्वाचन (नोभेम्बर) सम्म कायम रहने अनुमान गरिएको छ।
युक्रेनले आक्रमण रोक्ने निर्णयबारे औपचारिक घोषणा नगरे पनि अमेरिकी कूटनीतिक दबाब र मस्कोसँग जारी प्रयासका कारण किभले आफ्नो सैन्य रणनीतिमा फेरबदल गरेको स्पष्ट देखिन्छ। यसअघि राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पदबाट हटाउनुपर्ने विवादित अभिव्यक्ति दिएका थिए।
त्यस्तै, अमेरिकी अर्बपति इलन मस्कको कम्पनी 'स्पेसएक्स'ले युक्रेनी सेनाले प्रयोग गर्दै आएको 'स्टारलिंक' स्याटेलाइट इन्टरनेट सेवामा प्रतिबन्ध लगाएपछि युक्रेन थप दबाबमा परेको थियो। अक्टोबरको मध्यतिर युक्रेनी सैन्य नेतृत्वले लामो दूरीका आक्रमणमा संलग्न इकाइहरूलाई रुसी तेल प्रशोधन केन्द्रविरुद्धको अभियान रोक्न निर्देशन दिएको थियो।
युक्रेनका रक्षामन्त्री एभगेनी खमाराले कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै रुसी तेल केन्द्रमा आक्रमण रोक्न राष्ट्रपति जेलेन्स्कीसमक्ष प्रस्ताव लगेका थिए। जेलेन्स्कीले यसमा सहमति जनाए पनि आवश्यक परेको खण्डमा पुनः आक्रमण गर्न सेना स्वतन्त्र रहेको बताएका छन्। मङ्गलबार किभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “हाम्रा सैनिकले पछिल्ला दिनमा केही सावधानी अपनाएका छन्, तर तेल प्रशोधन केन्द्रमा आक्रमण नै नगर्नू भनेर पूर्ण आदेश दिइएको छैन।”
ट्रम्प प्रशासनले अमेरिकामा इन्धनको मूल्य वृद्धि हुनुमा युक्रेनी आक्रमण जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ। तर, ऊर्जा विज्ञहरूले भने ट्रम्पद्वारा सुरु गरिएको अमेरिका-इरान तनावलाई नै मूल्यवृद्धिको मुख्य कारण मानेका छन्। अक्टोबर २० मा अमेरिकी विशेष दूत जारेड कुशनरले ओस्लोमा जेलेन्स्कीसँग भेट गरी रुससँगको वार्ताका लागि वातावरण बनाउन ३० दिनका लागि आक्रमण रोक्न आग्रह गरेका थिए।
युक्रेनले भने बदलामा आफ्नो सुरक्षा सुनिश्चित हुनुपर्ने वा दुवै पक्षले एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सम्झौता हुनुपर्ने सर्त राखेको थियो। साथै, आफ्ना ऊर्जा केन्द्रको सुरक्षाका लागि 'प्याट्रियट' क्षेप्यास्त्र र 'स्टारलिंक'को पूर्ण पहुँच माग गरे पनि ती प्रस्तावमा ठोस सहमति हुन सकेको छैन। अक्टोबर २० मा रुसको ताम्बोभस्थित 'ड्रुजबा' तेल पाइपलाइनमा भएको आक्रमणयता युक्रेनले रुसी तेल पूर्वाधारमा थप हमला गरेको छैन।
यसैबीच, अक्टोबर २४ मा ट्रम्पको पहलपछि मस्कले स्टारलिंक सेवा पुनः सञ्चालनमा ल्याएका छन्। अमेरिकी अधिकारीहरूले स्टारलिंकको पुनरावृत्ति र आक्रमण स्थगनबीच सम्बन्ध नरहेको दाबी गरे पनि युक्रेनी अधिकारीहरूले भने दुवै घटना अमेरिकी दबाबसँगै जोडिएको बताएका छन्।
अमेरिकी गुप्तचर सूचना, स्टारलिंक र प्याट्रियट क्षेप्यास्त्रमाथि पूर्ण निर्भर युक्रेनका लागि अमेरिकासँगको बिग्रँदो सम्बन्ध गम्भीर सुरक्षा चुनौती बनेको छ। ट्रम्प प्रशासन रुसतर्फ लचिलो बनेको भन्दै युक्रेनभित्र तीव्र आलोचना भइरहेको छ। पूर्वी मोर्चामा खटिएका एक युक्रेनी कमान्डरका अनुसार असन्तोषस्वरूप सैनिकहरूले आफ्ना शिविरहरूबाट अमेरिकी झण्डा र चिह्नसमेत हटाउन थालेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस