असोज १७–२० सम्म विशेष सतर्कता अपनाउन आग्रह: भारी वर्षा, बाढी–पहिरोको जोखिम

जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १७ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारत हुँदै नेपालको मौसममा प्रभाव पार्दैछ। यसको प्रभावले विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा गराउने अनुमान गरिएको छ।
यसरी पर्ने वर्षाले काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढाउने विभागले जनाएको छ। यी जिल्लाहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले सतर्क रहन विभागले विशेष बुलेटिन जारी गरेको हो।

हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह नजिक पुग्न सक्ने देखिएको छ। साथै, महाभारत र चुरे हुँदै बग्ने स–साना नदी–नालामा पनि आकस्मिक बहावको सम्भावना रहेको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि असोज १७ देखि २० गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले दशैंको भीडभाडलाई ध्यानमा राख्दै अत्यावश्यक नभई सकेसम्म घरभन्दा टाढा, विशेष गरी राति यात्रा नगर्न अपिल गरेको छ।
प्राधिकरणले जोखिममा रहेका सडक र राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै, नदी किनार तथा पहिरो सम्भावित बस्तीहरूलाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन–दिन र सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थालाई सक्रिय रहन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस