विद्रोही हुथीलाई युद्धविरामका लागि १ अर्ब डलर दिने साउदीको प्रस्ताव
साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग जारी युद्धविरामलाई निरन्तरता दिन र आफ्नो भूमिमाथिको आक्रमण रोक्न १ अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको छ। इरानको मध्यस्थतामा तेहरानमा भएको उच्चस्तरीय वार्तापछि इजरायली सञ्चारमाध्यमहरूले यस्तो दाबी गरेका हुन्। यद्यपि, रकम हस्तान्तरण भएको विषयमा आधिकारिक पुष्टि हुन सकेको छैन।
रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँगको वार्ताका लागि सीधै तेहरान पुगेका थिए। कूटनीतिक स्रोतहरूका अनुसार उनी चढेको हर्क्युलेस सैन्य विमानमा उक्त रकमसमेत ल्याइएको दाबी गरिए पनि साउदी अधिकारीहरूले त्यसको पुष्टि गरेका छैनन्। उक्त वार्तामा टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन, पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असीम मुनीर तथा इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहितका शीर्ष कूटनीतिक एवं सैन्य अधिकारीहरूको उपस्थिति रहेको बताइएको छ।
साउदी विमानस्थल तथा तेल संरचनाहरूमाथि हुथीहरूको शृङ्खलाबद्ध आक्रमणले ठूलो आर्थिक क्षति पुर्याइरहेका बेला इरानले यो मध्यस्थताको पहल गरेको हो। हर्मुज जलमार्गमा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणले सम्पूर्ण खाडी क्षेत्रको इन्धन निर्यात प्रभावित भइरहेको पृष्ठभूमिमा साउदी विदेश मन्त्रालयले यो भ्रमण तनाव कम गर्ने, कूटनीतिक समाधान खोज्ने र कतार तथा पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गर्ने उद्देश्यले भएको स्पष्ट पारेको छ।
साउदी अधिकारीहरूका अनुसार यो विवाद तीन वर्षअघि भएको समझदारी कार्यान्वयनसँग जोडिएको छ, जसमा हुथी नियन्त्रित क्षेत्रका कर्मचारीको तलब भुक्तानी र पूर्वाधार निर्माणका लागि साउदीले आर्थिक सहायता दिने तथा बदलामा हुथीले आक्रमण रोक्ने सहमति भएको थियो। हुथीहरूले साउदीले सो प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै आएका छन् भने साउदी पक्षले सैन्य दबाबका भरमा नयाँ सर्त मान्न र कब्जा गरिएका क्षेत्र फिर्ता नगरी रकम हस्तान्तरण गर्न अस्वीकार गर्दै आएको छ।
अमेरिका, इजरायल र इरानबीच क्षेत्रीय तनाव चरम उत्कर्षमा पुगेका बेला भएको यस वार्तालाई तेहरानले आफ्नो कूटनीतिक प्रभाव विस्तार गर्ने रणनीतिस्वरूप हेरेको छ। तर, हुथी विद्रोहीलाई १ अर्ब डलर दिने प्रस्ताव र तेहरानमा नगद पुर्याइएको दाबीको भने स्वतन्त्र पुष्टि हुन बाँकी नै छ।



तपाईको प्रतिक्रिया दिनुहोस