प्रहरीको 'घुमुवा' बनेर असुली गर्ने पर्साका वर्णवाल पक्राउ
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ‘घुमुवा’ (सादा पोसाकका सुरक्षाकर्मी) हुँ भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार वर्णवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वर्णवालले सुरक्षाकर्मीहरूसँग आफ्नो राम्रो चिनजान रहेको बताउँदै चोरी–तस्करीका सामानहरू सजिलै पास गराइदिने आश्वासन दिने गरेका थिए।
सामान पास गराउन रकम नदिए पक्राउ गराइदिने धम्की दिँदै बिचौलियाको रूपमा रकम असुली गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले उनलाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो। प्रहरीले वर्णवालमाथि कानुनबमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
साथै, प्रहरीका अनुसार वर्णवालले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सेवामा जागिर लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूबाट समेत रकम उठाएको विषयमा थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस