धानबाली जोगाउन कृषकहरूका लागि कृषि कार्यालयको विशेष अपिल
कृषि विकास कार्यालयले सम्भावित मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै धान काट्न तथा भित्र्याउन हतार नगर्न कृषकहरूलाई विशेष आग्रह गरेको छ।
कार्यालयद्वारा जारी ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा आगामी ११ देखि १५ कात्तिकसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको औंल्याइएको छ। वर्षाका कारण पाकेको धानबालीमा हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन कृषकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
कार्यालयको सुझावअनुसार पाकिसकेको धान मौसमको अवस्था हेरेर आजैभित्र भित्र्याइसक्न वा १५ कात्तिकपछि मात्र काट्न उपयुक्त हुनेछ। यदि तत्काल धान भित्र्याउन सम्भव नभएमा मौसममा पूर्ण सुधार आएपछि मात्र काट्ने गरी समय व्यवस्थापन गर्न कृषकहरूलाई सुझाइएको छ।
यसैबीच, धान अझै नपाकेका खेतहरूमा कुलो वा नाली काटेर तुरुन्तै पानी निकासको व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ। साथै, हावाहुरी वा वर्षाका कारण धान ढल्न गएमा धानका बालाहरू पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा सुरक्षित तथा अग्लो स्थानमा राख्ने प्रयास गर्न कार्यालयले कृषकहरूलाई आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस