पश्चिम एसियाको युद्धले रन्थनियो साउदी, पौने चार लाख नेपाली त्रासमा
यमनको विद्रोही लडाकु हुथी समूहले साउदी अरेबियाको 'अरामको' तेल उत्पादन क्षेत्रमा गरेको घातक ड्रोन आक्रमणमा परी एक नेपालीसहित दुई विदेशी नागरिकको ज्यान गएको छ।
गएको कात्तिक ४ गते भएको उक्त आक्रमणमा परी अर्का एक जना नेपाली घाइते भएका छन्। घटना भएको पाँच दिन बितिसक्दा समेत हताहत हुने नेपाली नागरिकहरूको विस्तृत पहिचान भने अझै खुल्न सकेको छैन।
परराष्ट्र मन्त्रालयका अनुसार साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासमार्फत मृतक र घाइते नेपालीको पहिचान खुलाउन तीव्र प्रयास भइरहेको छ। तर, स्थानीय साउदी प्रहरीबाट आधिकारिक प्रतिवेदन आउन ढिलाइ भएकाले पहिचान स्पष्ट हुन नसकेको मन्त्रालय स्रोतले जनाएको छ।
हुथी समूहले कात्तिक ४ गते साउदीको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल र अरामको तेल पूर्वाधारलाई लक्षित गरी संयुक्त आक्रमण गरेको थियो, जसमा नेपाल, भारत, साउदी र फिलिपिन्सका नागरिकहरू परेका थिए।
पछिल्ला महिनाहरूमा इरान समर्थित हुथी समूह र साउदी अरेबियाबीचको सैन्य द्वन्द्व तीव्र रूपमा चर्किएको छ। हुथीले पछिल्लो एक महिनामै साउदीमाथि ८ वटा ठूला मिसाइल तथा ड्रोन आक्रमण गरिसकेको छ, जसबाट कम्तीमा २३ जनाको ज्यान गइसकेको छ। यसअघि गत असोज २४ गते किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको मिसाइल हमलामा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएका थिए।
साउदीमा हाल वैधानिक रूपमा ३ लाख ८४ हजार ८६५ जना नेपाली कार्यरत छन्। साउदीका प्रमुख विमानस्थल र इन्धन पूर्वाधारमा लगातार हुने शृङ्खलाबद्ध विस्फोटका आवाजले त्यहाँ रहेका नेपाली र नेपालमा रहेका उनीहरूका परिवार गम्भीर त्रासमा परेका छन्। द्वन्द्व अझै लम्बिएमा नेपालीको रोजगारी गुम्ने र ठूलो सङ्ख्यामा रहेका नागरिकको उद्धार कसरी गर्ने भन्ने चुनौती नेपाल सरकारसामु थपिने देखिएको छ। नेपाली नागरिक र संवेदनशील पूर्वाधारलाई लक्षित गरी भएका आक्रमणको नेपाल सरकारले कडा शब्दमा भर्त्सना गर्दै कूटनीतिक संवादबाट समाधान खोज्न आग्रह गरिसकेको छ।
नेपालको अर्थतन्त्रमा पर्न सक्ने गम्भीर असर
२०८२ फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि गरेको हमलापछि पश्चिम एसियाभर फैलिएको युद्ध ६ महिनाभन्दा बढी समयदेखि निरन्तर जारी छ। परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय अन्तर-मन्त्रालय अध्ययन कार्यदलको प्रतिवेदन अनुसार यस युद्धले नेपालको बहुआयामिक क्षेत्रमा धक्का पुर्याउने देखाएको छ ।
अर्थतन्त्र र रेमिट्यान्स: वैदेशिक रोजगारी सङ्कटमा पर्दा नेपाल भित्रिने रेमिट्यान्स घट्ने र गरिबीको रेखाबाट भर्खर माथि उठेका परिवारहरू पुनः 'ऋणको पासो' र गरिबीमा धकेलिने जोखिम छ।
मूल्यवृद्धि र वैदेशिक व्यापार: इन्धन, एलपी ग्यास र हवाई इन्धनको मूल्य अत्यधिक बढेको छ। पश्चिम एसियातर्फको निर्यात २ प्रतिशत र आयात ५ प्रतिशतले घटेको छ।
पर्यटन र उद्योग: दोहा, दुबई र अबुधाबी जस्ता प्रमुख ट्रान्जिट प्रभावित हुँदा नेपाल आउने पर्यटकीय आगमनमा १.५ प्रतिशतले गिरावट आएको छ भने आन्तरिक उत्पादन र उपभोक्ता मागमा सुस्ती आएको छ।
पश्चिम एसियाको यो अशान्त वातावरणले वैदेशिक रोजगारी, सार्वजनिक ऋण, मूल्यवृद्धि र नागरिकको जीवनस्तरमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने जोखिम झन् बढेर गएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस