Road Blocked
वर्षा र पहिरोका कारण देशभरका यी राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध, (हेर्नुहोस् नामसहित)

वर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ः४० बजेसम्मको विवरणअनुसार कोशी र बागमतीसहितका प्रदेशका धेरै सडकखण्डमा यातायात आवागमन ठप्प रहेको छ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला, मकालु गाउँपालिका–३ एकुवा, र मानेभञ्ज्याङ गाउँपालिका–६ तथा ७ को बीचको भागमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
त्यसैगरी, ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। धनकुटाको पाख्रीबास–दिकुरे, साँगुरीगढीस्थित चनौटे र ससिमसुवा क्षेत्रमा पनि मध्यपहाडी लोकमार्ग र कोशी राजमार्ग वर्षाका कारण बन्द रहेका छन्।
ईलाम नगरपालिकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रसुवामा गोसाइकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकका विभिन्न स्थानमा पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो क्षेत्र, काभ्रेपलान्चोकको डालाबेसी र बुल्ढुङ्गा, र मकवानपुरको भिमफेदी तथा बकैया क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएका छन्।
दक्षिणकाली–काठमाडौं खण्ड पनि इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार क्षेत्रमा बन्द भएको प्रहरीको जानकारीमा उल्लेख छ।
सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरे क्षेत्रमा अवरुद्ध भएको मदन भण्डारी राजमार्ग आंशिक रूपमा सुचारु गरिएको छ। तर, सोही जिल्लाको फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बिपी राजमार्ग भने पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले राजमार्ग क्षेत्रहरूमा अझै पनि पहिरोको जोखिम कायम रहेको जनाउँदै यात्रु र सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस