Techie IT
२०८३ वैशाख १६, बुधबार

भुरुङ तातोपानीमा बाढीको कहर: बस्ती डुबान, खानेपानी र सडक सेवा ठप्प


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अविरल वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनाएको छ। 

मंगलबार दिउँसो बजारको शिरतर्फबाट बग्ने दुई खहरेखोलामा आएको बाढी बस्तीभित्र पसेपछि स्थानीयवासी त्रसित बनेका छन्।
बाढीका कारण केही घरमा सामान्य क्षति पुगेको छ भने खानेपानीको पाइपलाइन बगाउँदा आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय होटल व्यवसायी अमृतमान शेरचनका अनुसार बस्तीमा वितरणका लागि ल्याइएको पाइपलाइन नै बाढीले बगाएपछि दैनिक जीवन कष्टकर बनेको छ।

खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका शेरचनले समस्या समाधानका लागि बुधबार बिहानै श्रमदानमार्फत पाइपलाइन मर्मत गर्ने तयारी गरिएको जानकारी दिए। पर्यटकीय गन्तव्यका रूपमा परिचित तातोपानीमा पर्यटकको चाप उच्च रहेका बेला खानेपानी अवरुद्ध हुँदा होटल व्यवसायीहरू थप समस्यामा परेका छन्।

करिब ८२ घरधुरी बसोबास रहेको भुरुङ तातोपानीमा साना–ठूला गरी करिब ३० वटा होटल सञ्चालनमा छन्। मुस्ताङ प्रवेशद्वारका रूपमा रहेको तातोपानी कुण्डका कारण यहाँ दैनिक पर्यटकको चहलपहल रहने गर्छ। तर बाढीले तातोपानीदेखि मान्द्रेढुङ्गा जाने सडकसमेत अवरुद्ध बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए।

यसैबीच, अविरल वर्षाकै कारण बेनी–जोमसोम–कोरला सडकअन्तर्गत महभीर, तातोपानी, गुइठेभीर, खामभित्ता र लाटोखोलामा बाढी तथा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि मुस्ताङ जाने–आउने पर्यटक तथा सर्वसाधारण बीच बाटोमै अलपत्र परेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट