डोल्पामा बाढीले घरै थुन्दा एक महिलाको मृत्यु, चार घाइते
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढीले पुरिएर एक महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
आइतबार बिहान करिब ३:०० बजे अचानक आएको बाढी बस्तीमा पसेको थियो। घरभित्र सुतिरहेको अवस्थामा लेदोले पुरिएकी स्थानीय ५५ वर्षीया आनन्दा विकलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। तर, उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने अन्य तीन जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्। यस्तै, घटनाको आघातका कारण मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक और २९ वर्षीय दुर्गे विक बेहोस भएपछि उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार बाढीले गैरीगाउँका ९ वटा घरमा क्षति पुर्याएको छ, जसमध्ये एक घर पूर्ण रूपमा ध्वस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ।
घटनालगत्तै प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको छ। सुरक्षाकर्मीको टोलीले प्रभावित क्षेत्रमा उद्धार, थप क्षतिको विवरण सङ्कलन र अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस