देशभर विपदको रेड अलर्ट, २१ जिल्ला बाढीको उच्च जोखिममा, कोशी ब्यारेजका ढोका खोलिने
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न हिस्सामा भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै प्राकृतिक विपद्को जोखिम उच्च भएको छ। बाढी, पहिरो र डुबानको खतरालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारी र प्रतिकार्य योजनालाई तीव्र पारेको छ।
सम्भावित जोखिमलाई न्यूनिकरण गर्न प्राधिकरणले सुरक्षा निकायहरूसँगको समन्वयमा उद्धार टोली र आवश्यक सामग्रीहरू तयारी अवस्थामा राखेको छ।प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीहरूमा पानीको बहाव खतरनाक तहमा पुग्न सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउँदै आजैदेखि कोशी ब्यारेजका ढोकाहरू क्रमशः खोल्न लागिएको छ। जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले नदीहरूको जलप्रवाहको निरन्तर निगरानी भइरहेको र देशका २१ जिल्लाहरू बाढीको मध्यमदेखि उच्च जोखिममा रहेको जानकारी दिएका छन्।
विपद्को जोखिम बढेसँगै प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बद्ध सरोकारवालाहरूलाई उच्च सतर्कता (High Alert) मा रहन निर्देशन दिएको छ। विशेष गरी नदी किनार, तटीय क्षेत्र र पहिरोको जोखिम रहेका भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।
प्राधिकरणले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक लामो दुरीको यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न समेत विनम्र अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस