भोटेकोशी बाढीबारे चिनियाँ विदेश मन्त्रालयले के भन्यो ?
नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि गएको पहिरोका कारण भोटेकोशी क्षेत्रमा विनाशकारी विपद आएको निष्कर्ष निकालिएको छ। चीन र नेपालका विज्ञ तथा सम्बन्धित सरकारी निकायले गरेको संयुक्त अध्ययनबाट यो तथ्य बाहिर आएको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा सीमावर्ती बन्दरगाह क्षेत्रमा आएको पहिरोको कारणबारे स्पष्ट पार्दै केही विदेशी सञ्चारमाध्यमले गरेका अनुचित टिप्पणीको खण्डन गरेका छन्। उनले ठूला विपद्का बेला तथ्यमा आधारित नभई गरिने दुर्भावनापूर्ण अड्कलबाजीको चीनले दृढतापूर्वक विरोध गर्ने बताए।
विपद लगत्तै चिनियाँ सरकारले नेपाललाई आपत्कालीन नगद सहायता र मानवीय सहयोग उपलब्ध गराएको छ। प्रवक्ता गुओका अनुसार पहिलो चरणमा पठाइएको ५० टन राहत सामग्री काठमाडौं आइसकेको छ भने प्रभावित क्षेत्रमा सहयोग गर्न सुरुङ उद्धार विशेषज्ञका दुई टोली पनि खटाइएको छ।
त्यस्तै, चीनले प्रभावित क्षेत्रका तस्बिर, भू–उपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्याङ्क नेपालसँग आदानप्रदान गर्नुका साथै माथिल्लो क्षेत्रमा बनेका अवरोध तालबारेको पूर्वसूचना समेत उपलब्ध गराएको छ।
नेपालमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउन चीनले सक्रिय सहयोग गरिरहेको छ। आइतबार दिउँसोसम्म सम्पर्कमा आएका सबै चिनियाँ नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ। यद्यपि, अझै सम्पर्कविहीन रहेका चिनियाँ तथा अन्य विदेशी नागरिकको खोजी र उद्धारका लागि सबै प्रयास जारी राखिएको प्रवक्ता गुओले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस