किङ फहद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, एकको मृत्यु र आठ घाइते
साउदी अरबको पूर्वी शहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा यमनका हुथी विद्रोहीले गरेको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।
साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले बुधबार विज्ञप्ति जारी गर्दै घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीर रहेको र उनीहरूलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको जनाएको छ।
यसअघि बुधबार नै साउदी अरबको सरकारी तेल कम्पनी ‘साउदी अराम्को’द्वारा सञ्चालित शैबह तेल क्षेत्रमा हुथी विद्रोहीको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले हावामै खसाल्ने क्रममा त्यसको अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको थियो। यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार र इरानसमर्थित हुथी विद्रोहीबीच द्वन्द्व तीव्र बन्दै जाँदा साउदी अरबका महत्त्वपूर्ण रणनीतिक विमानस्थल र इन्धन पूर्वाधारहरूमाथि आक्रमणको शृङ्खला थप चर्किएको छ।
यसैबीच, निरन्तर भइरहेका आक्रमणपछि अमेरिकी विदेश मन्त्रालयले साउदी अरबमा रहेका आफ्ना कूटनीतिज्ञ र तिनका परिवारलाई देश छाड्न आदेश दिएको छ। रियादस्थित अमेरिकी दूतावासले सम्भावित थप आक्रमणबारे सुरक्षा अलर्ट जारी गरेको छ। लगातारका यी घटनाले खाडी क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूसहित वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सुरक्षा स्थिति थप जोखिमपूर्ण बन्दै गएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस