भोटेकोशी बाढीका कारण १११४ जनाको मृत्यु पुष्टि, अझै ३९१६ जना सम्पर्कविहीन
विनाशकारी भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेको संख्या ११ सय १४ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको आज बिहान ९ बजेसम्मको अद्यावधिक विवरण अनुसार विपद्बाट ठुलो धनजनको क्षति भएको हो।
प्राधिकरणका अनुसार बाढीमा परी ज्यान गुमाएकामध्ये सबैभन्दा बढी चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको शव फेला परेको छ। यसैगरी, तनहुँमा ३८, धादिङमा ५९, गोरखामा ६६ र रसुवामा ४१ जनाको शव बरामद गरिएको छ। संकलित शवहरूमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई सम्बन्धित आफन्तको जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण अझै पनि ३ हजार ९ सय १६ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, स्थानीय बासिन्दा तथा विभिन्न जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू समेत रहेका छन्। उनीहरूको खोजीकार्य जारी राखिएको छ।
विपद् प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ। जसमा नेपाली सेनाको हवाई उडानमार्फत मात्र ४ हजार ९१ नेपाली र २७३ जना विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका २१२ जनामध्ये १८२ जना उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
उद्धार, खोज तथा सुरक्षाका लागि कुल २१ हजार ३ सय १४ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। जसमा ९ हजार १९९ नेपाली सेना, ७ हजार ९१२ नेपाल प्रहरी र ४ हजार २०३ सशस्त्र प्रहरी बलका जवानहरू खटिएका छन्। हालसम्म प्रभावित क्षेत्रका ३ हजार ४ सय ५३ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ, जसमध्ये सबैभन्दा धेरै नुवाकोटमा २ हजार ४६६ जना रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस