सुरुङमा फसेकाहरूको उद्धार गर्न ३ देखि ४ महिना लाग्ने - नेपाली सेना
रसुवामा गएको विनाशकारी बाढीले जलविद्युत आयोजनाका सुरुङहरू पुरिँदाभित्र फसेकाहरूको उद्धार कार्य अत्यन्तै जटिल बनेको छ। सुरुङभित्र फसेकाहरूको तत्काल उद्धार गर्न सम्भव नरहेको नेपाली सेनाले स्पष्ट पारेको छ।
बाढीप्रभावित क्षेत्रमा उद्धारमा खटिएका नेपाली सेनाका ६ नम्बर बाहिनीका सहायकरथी उज्जवल राणाले सुरुङभित्रको अवस्था निकै कठिन रहेको सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । उनले भने, “सुरुङमा फसेकाहरूको उद्धारका लागि २–३ दिन होइन, ३–४ महिनासम्म लाग्ने देखिएको छ।”
सहायकरथी राणाको नेतृत्वमा रसुवाका चारवटा जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार कार्य जारी छ। तर, कठिनाइ अत्यधिक बढेपछि रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा भने हिजोदेखि उद्धार कार्य रोकिएको छ। हाल चिलिमे, अपर त्रिशूली–१ र लाङ्टाङ हाइड्रोको सुरुङमा उद्धारको प्रयास भइरहे पनि लेदो र बाढीले सुरुङ पूरीएका कारण हालसम्म जीवित वा मृत अवस्थामा कोही बाहिर निकाल्न सकिएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस