पहिरोले थुनियो चमेलिया नदी, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भटारमा गएको भीषण पहिरोका कारण चमेलिया नदी थुनिएको छ।
निरन्तरको वर्षासँगै आएको ठूलो पहिरोले नदी करिब आधा घण्टासम्म पूर्ण रूपमा थुनिएको थियो। पहिरोका कारण नदीको बहाव रोकिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्। विपद्बाट स्थानीयको खेतीयोग्य जमिन बग्नुका साथै सिंगो बस्ती नै संकटमा आएको छ।
हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारु हुन थालेको छ। तर, वर्षा नरोकिएकाले नदीमा पानीको सतह अचानक बढ्न सक्ने जोखिम कायमै रहेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिएका छन्।
अध्यक्ष बोहराका अनुसार यसअघि पनि तीन–चार वर्षपहिले सोही स्थानमा पहिरो गएको थियो। तर, यसपटकको पहिरो विगतको तुलनामा निकै ठूलो रहेको स्थानीयको भनाइ छ। अविरल वर्षा अझै नरोकिएकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबै बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस