Techie IT
२०८३ भाद्र २२, सोमबार

रसुवा बाढीः सेनाद्वारा ४०२० को हवाई उद्धार, ९३०० भन्दा बढी सैनिक परिचालन


रसुवा र नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाएको छ। सेनाले सोमबार साँझ ६ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप ४० जनाको सकुशल उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनबाट मात्रै ३ हजार ७३७ नेपाली र २८३ विदेशी नागरिक गरी कुल ४ हजार २० जनाको उद्धार गरिएको छ।

बाढीले ठूलो क्षति पुर्‍याएका जलविद्युत् आयोजनाहरूमा सेनाले खोजी अभियानलाई निरन्तरता दिएको छ।

रसुवागढी जलविद्युत् आयोजना: 'कम्पोजिट क्विक रियाक्सन टिम' र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको छ।

लाङटाङ र चिलिमे हाइड्रो: लाङटाङमा संयुक्त टोलीले खोजी जारी राखेको छ भने चिलिमेमा विदेशी नागरिकसहितको टोलीले 'स्लिङ अपरेसन'मार्फत स्याफ्रुबेंसीमा लगिएको मिनी एक्स्काभेटर तथा अन्य उपकरण जडान गरी प्रयोगमा ल्याएको छ। सो टोलीले ६/६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटोसमेत तयार पारेको छ।

माथिल्लो त्रिशूली–१ र त्रिशूली ३ 'ए', ३ 'बी': माथिल्लो त्रिशूली–१ को मुख्य प्रवेश टनेलमा करिब ४०० मिटरभित्रसम्म प्रवेश गरेर खोजी गरिए पनि हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। त्यस्तै, त्रिशूली ३ ‘ए’ मा ५८ जना र ३ ‘बी’ मा १०० जना सैनिकसहितको टोलीले तीनवटा 'बबक्याट' र चारवटा 'एक्स्काभेटर' प्रयोग गरी करिब १० फिट गहिरासम्म खनेर खोजी तीव्र पारेको छ।

देवीघाटमा पुल निर्माण र तुइन सञ्चालन
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणको काम युद्धस्तरमा अघि बढाएको छ। यसका साथै, इन्द्रेणी चौर र गुम्बा डाँडा जोड्ने क्षेत्र तथा देवीघाटमा दुईवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

९ हजार ३ सयभन्दा बढी सैनिक परिचालन
सेनाले मैलुङदेखि स्याफ्रुबेंसीसम्मका प्रभावित क्षेत्रमा पैदल गस्ती गरी खोज तथा उद्धार जारी राखेको छ। त्रिशूली र धुन्चेमा स्थापित आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार ४०४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन्। उनीहरूले घाइतेको उद्धार, शव व्यवस्थापन, राहत ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन स्वास्थ्य उपचारलगायतका कार्यहरू निरन्तर गरिरहेको नेपाली सेनाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट