बाढीले गुल्मी-स्याङ्जा जोड्ने मिर्मी पुल बगायो, दुई जिल्लाबीचको यातायात ठप्प
कालीगण्डकी नदीमा आएको भीषण बाढीले गुल्मी र स्याङ्जा जोड्ने मिर्मी पुल बगाएको छ। पुल बगेसँगै दुई जिल्लाबीचको सीधा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका वडाध्यक्ष लालुप्रसाद पाण्डेका अनुसार शनिबार बिहान करिब ६ बजेको आसपास आएको बाढीले पुल बगाएको हो। स्याङ्जा जोड्ने अन्य वैकल्पिक सडक नरहेकाले गुल्मीको सदरमुकाम तम्घासबाट मिर्मी हुँदै पोखरा र काठमाडौंतर्फ चल्ने साना तथा ठूला सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द भएको छ। जिल्लाको प्रमुख नाका जोडिने पुल नै भत्किएपछि दुवैतर्फका नागरिकहरू प्रत्यक्ष मारमा परेका छन्।
रिडी बजार जलमग्न, मिर्मी ड्याममा उच्च जोखिम
बाढीका कारण कालीगण्डकी नदीको जलसतह बढेर रुरुक्षेत्र गाउँपालिका–१ को रिडी बजार क्षेत्र जलमग्न भएको छ। रिडी लामाचौरपारी र बजार नजिकका सडकसहित कालीगण्डकी करिडोरका विभिन्न भागहरू डुबानमा परेका छन्।
स्थानीय व्यवसायी रविलाल पन्थका अनुसार बाढीले बगर क्षेत्रमा निर्माण गरिएका पक्की संरचना, मन्दिर र घाटहरू डुबाएको छ। शनिबारदेखि नै कालीगण्डकीका तीनवटा ढोका खोलिए पनि नदीमा पानीको बहाव अत्यधिक रहेकाले जोखिम अझै टरिसकेको छैन। मिर्मी ड्याममाथि पूर्तिघाटतर्फ पानीको बहाव उच्च रहेको जानकारी प्राप्त भएको छ।
जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। सञ्चार र बिजुली नहुँदा घटनाको विस्तृत विवरण संकलन तथा उद्धार कार्यमा समेत कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। नदीको बहाव उच्च रहेकोले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस