Techie IT
२०८३ असोज ११, आइतबार

अविरल वर्षाको कहर: देशका प्रमुख सडक सञ्जालहरू ठप्प, कहाँको अवस्था कस्तो?


काठमाडौं — लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र लेदो खस्दा मुख्य राजमार्ग, राष्ट्रिय लोकमार्ग तथा भित्री सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरी र स्थानीय प्रशासनले जारी गरेको पछिल्लो विवरण अनुसार अधिकांश स्थानमा यातायात सेवा ठप्प भएको छ भने जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ।

प्रमुख राजमार्गहरूको अवस्था
पृथ्वी राजमार्ग: धादिङको बेनीघाट रोराङ (कृष्णभीर) तथा गजुरी क्षेत्र र तनहुँको घाँसीकुवा, मौरीभीर, सेराटार तथा चुनपहरामा ठूलो पहिरो जाँदा राजमार्ग दुवै तर्फ पूर्ण रूपमा अवरुद्ध छ।

बिपी राजमार्ग: काभ्रेको रोशी गाउँपालिकास्थित चारसयवेशी र गिम्दीवेशीमा पहिरो खस्दा सडक बन्द भएको छ। जोखिमलाई मध्यनजर गर्दै काभ्रे र सिन्धुली खण्डमा बेलुका ५:०० देखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

अरनिको राजमार्ग: काभ्रेको धुलिखेल (पकुचा) मा पहिरो जाँदा यातायात दुवैतर्फ ठप्प छ।

कान्ति लोकपथ: ललितपुरको बागमती गाउँपालिकास्थित टाकुर्चे र पाङदुरडोलमा लेदो र ढुङ्गा खस्दा लोकपथ पूर्ण रूपमा बन्द छ।

नारायणगढ-मुग्लिन सडक: चितवन र आसपासका क्षेत्रमा निरन्तरको वर्षाले ठाउँ-ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द गरिएको छ।

पासाङ ल्हामु राजमार्ग: रसुवाको उत्तरगया (खाल्टे) मा त्रिशूली नदीको कटान र बाढीले सडक पूर्ण रूपमा नष्ट गरेको छ। स्याफ्रुबेँसी जानका लागि नुवाकोट-कालिकास्थान हुँदै धुन्चे जाने एकलेनको वैकल्पिक कच्ची बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

सिद्धार्थ राजमार्ग: स्याङ्जाको पुतलीबजार (तिनधारे) मा पहिरो जाँदा राजमार्ग पूर्ण अवरुद्ध भएको छ।

मदन भण्डारी तथा सहिदमार्ग: गुल्मीको स्यालबिसौना (रिडी-तम्घास), रोल्पाको माडीचौर तथा गरगरेमा पहिरो खस्दा यी मार्गहरू पूर्ण रूपमा ठप्प छन्।

कालीगण्डकी करिडोर: बागलुङ (बेलबगर), गुल्मी (राक्से र पातीखोला), नवलपरासी पूर्व (घुमाउरी घाट) र पाल्पा (कासिबन) मा पहिरो र खोलाको बहाव बढेका कारण करिडोरका विभिन्न खण्डहरू अवरुद्ध छन्।

कर्णाली राजमार्ग र करिडोर: कालिकोटको गगने खोला र हुम्लाको खच्चामा गएको पहिरोका कारण कर्णाली राजमार्ग र करिडोर पूर्ण रूपमा बन्द बनेका छन्।

महाकाली राजमार्ग: दार्चुलाको ऐरिछिनामा ठूलो ढुङ्गा खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।
त्रिभुवन राजपथ: साना तथा यात्रुवाहक सवारीका लागि निश्चित समय तालिका तोकिएको छ भने १० चक्काभन्दा लामा र १५ टनभन्दा भारी मालवाहक सवारीलाई पूर्ण निषेध गरिएको छ।

टोखा-छहरे सडक: राति १०:०० देखि बिहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशका भित्री सडकहरू: ताप्लेजुङ, भोजपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका सडकहरूमा साँझ ७:०० देखि बिहान ५:०० बजेसम्म आवागमन बन्द गरिएको छ।

सुदूरपश्चिम (डोटी): डोटी जिल्लाभर असोज १० गते बिहानदेखि ११ गते बिहान ७:०० बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रशासनले बाढी तथा पहिरोको उच्च जोखिम कायम रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न र यात्रा गर्नुअघि सम्बन्धित क्षेत्रको सडकस्थितिबारे जानकारी लिन चालक तथा यात्रुहरूलाई विशेष अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट