नारायणी नदीमा बग्दै गरेका पुरुषलाई जीवितै उद्धार

चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका करिब ४०/५० वर्षीय एक पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।
शनिबार बिहान नारायणी नदीमा माथिबाट बग्दै गरेको अवस्थामा देखिएका ती पुरुषलाई सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो। प्रहरी टोली सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमान्डमा खटिएको थियो।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धारपछि ती पुरुषलाई तत्कालै भरतपुर सरकारी अस्पतालमा उपचारका लागि पठाइएको छ। हालसम्म उनीको पहिचान खुल्न सकेको छैन भने स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
उक्त उद्धार कार्यको प्रशंसा भइरहेका बेला, नदी किनारका स्थानीयले पनि प्रहरी टोलीको तिव्र प्रतिक्रिया र मानवीयताको प्रशंसा गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस