सुन–चाँदीको मूल्यमा साता भरि उतारचढाव, सुन २२०० र चाँदी ६० रुपैयाँले बढ्यो

नेपाली बजारमा यो साता सुन र चाँदीको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ। साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा ६० रुपैयाँको वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार (साउन २ गते) छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ थियो। यो मूल्य बढ्दै शुक्रबार (साउन ९ गते) १ लाख ९४ हजार ७०० रुपैयाँमा पुगेको हो।
सुनको मूल्य साता भरि चढबढ भइरहेकामा बुधबार (साउन ७ गते) सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो।
त्यसअघि आइतबार १ लाख ९३ हजार ३००, सोमबार १ लाख ९३ हजार ७०० र मंगलबार १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार सुनको मूल्य घटेर १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो भने शुक्रबार तोलाको मूल्य १ लाख ९४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ।
चाँदीको मूल्यमा समेत क्रमिक वृद्धि देखिएको छ। साउन २ गते तोलाको २ हजार २८० रुपैयाँमा रहेको चाँदीको मूल्य क्रमशः साउन ४ र ५ गते २ हजार २८५, ६ गते २ हजार ३२०, ७ गते २ हजार ३५० र ८ गते २ हजार ३३५ रुपैयाँमा पुग्यो।
साताको अन्तिम दिन शुक्रबार भने चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भएको हो।
महासंघका अनुसार साताको अवधिमा चाँदीको मूल्य कुल ६० रुपैयाँले बढेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस