दुबईमा नेपाली घिउको माग ह्वात्तै बढ्यो, डीडीसीद्वारा नियमित निर्यात सुरु
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले संयुक्त अरब इमिरेट्स (दुबई) मा आफ्नो उत्पादन निर्यात गरी ऐतिहासिक सफलता हासिल गरेसँगै घिउको निर्यातलाई नियमित बनाएको छ। परीक्षणका रूपमा गरिएको पहिलो निर्यात पूर्ण रूपमा सफल भएपछि दुबईको बजारमा नेपाली घिउको माग ह्वात्तै बढेको हो। माग बढेसँगै डीडीसीले आउँदो तिहारको मुखैमा थप घिउ तथा अन्य दुग्धजन्य परिकारहरू पठाउने तयारी अन्तिम चरणमा पुर्याएको छ।
डीडीसीले सुरुवातमा ६०० किलो (करिब आधा टन) घिउ पठाएर दुबईको बजारमा प्रवेश गरेको थियो। पहिलो लटको घिउले उपभोक्ताबाट पाएको सकारात्मक प्रतिक्रियापछि हालसम्म तीनवटा कन्साइनमेन्टमार्फत करिब तीन टन घिउ निर्यात भइसकेको छ। डीडीसीका महाप्रबन्धक डा. शरण कुमार पाण्डेका अनुसार बजारको उच्च मागका आधारमा घिउको नियमित आपूर्ति भइरहेको छ भने आगामी तिहार अघि नै थप डेढ टन घिउ दुबई पठाउने तयारी भइरहेको छ।
गत भदौको पहिलो साता दुबईमा पहिलोपटक घिउ निर्यात गरिएको थियो। घिउको सफल बिक्रीबाट उत्साहित बनेको डीडीसीले आफ्ना अन्य परिकार तथा मिठाईहरूको समेत बजार परीक्षण थालेको छ। महाप्रबन्धक पाण्डेका अनुसार घिउसँगै हाल परीक्षणका लागि ३०० देखि ४०० बट्टाको परिमाणमा रसबरी, लालमोहन, पेडा, छुर्पी र चिज दुबई पठाइएको छ।
हाल यी नयाँ उत्पादनहरू परीक्षणका रूपमा रहेकाले हवाई मार्ग (प्लेन) मार्फत पठाइएको छ। हवाई ढुवानी महँगो परे पनि प्रारम्भिक परीक्षणकाल भएकाले थोरै परिमाणमा पठाइएको संस्थानको भनाइ छ। नयाँ उत्पादनहरूको बजार स्थापित भइसकेपछि आगामी दिनमा समुद्री कन्टेनरमार्फत ठूलो परिमाणमा र सस्तो लागतमा सामान निर्यात गर्ने संस्थानको दीर्घकालीन योजना रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस