Share Market
नेप्से परिसूचकमा सामान्य गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य रूपले ओरालो लागेको छ। बजार परिसूचक १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा कायम भएको हो।
बुधबार सेयर बजार खुल्दादेखि केही समय हरियाली देखिए पनि अन्तिम १५ मिनेटको भारित औसत मूल्य (Weighted Average Price) गणनापछि परिसूचक ऋणात्मकमा पुगेको हो। यस दिन कुल ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक किनबेच हुँदा कुल ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
नेप्से सूचकको घटावटसँगै अधिकांश उपसमूहहरूको सूचक पनि ओरालो लागेको छ। बैंकिङ समूह ०.४७ प्रतिशत, विकास बैंक ०.६१ प्रतिशत, वित्त ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.०५ प्रतिशत, जलविद्युत् ०.१५ प्रतिशत, जीवन बीमा ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१० प्रतिशत, निर्जीवन बीमा ०.३६ प्रतिशत र व्यापार समूह ०.६६ प्रतिशतले घटेका छन्।
तर, लगानी, अन्य र लघुवित्त समूहको सूचक भने बढेको छ। लघुवित्त समूह १.४१ प्रतिशत, लगानी समूह ०.४९ प्रतिशत र अन्य समूह ०.४४ प्रतिशतले बढेका हुन्। माइक्रोफाइनान्स समूहमा लाभांशको चर्चा चलिरहेका बेला लगानीकर्ताको आकर्षण देखिएको हो।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेड को शेयर किनबेच भएको छ। कम्पनीको २९ करोड ४५ लाख ५७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको हो। त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाइड्रोपावर अगाडि रहेका छन्।
शेयर संख्याको आधारमा सनराइज फोकस्ड इक्विटी फण्ड को सबैभन्दा बढी १८ लाख २७ हजार ६८० कित्ता शेयर कारोबार भएको हो।
बुधबार विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर लिमिटेड को शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, समाज लघुवित्त ७.९३ प्रतिशत र स्वाभिमान लघुवित्त ७.८३ प्रतिशतले बढेका छन्।
यता, थ्रीस्टार हाइड्रोपावर को शेयर मूल्य ३.७८ प्रतिशतले घटेको छ भने समता घरेलु लघुवित्त २.७२ प्रतिशत र युनिलिभर नेपाल २.७१ प्रतिशतले घटेका छन्।
दिनभर बजारमा उतारचढाव
कारोबार अवधिमा बजार २८५६ अंकसम्म पुगेको थियो भने न्यूनतम २८२८ अंकसम्म झरेको थियो। आज दिनको अन्त्यतिर आएको गिरावटले बजार सुस्त देखिएको विश्लेषकहरूको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस