जेनजीको आगजनीपछि होटेल हायतमा कार्यरत १३३ जनाको जागिर गुम्यो
हायात होटलले सबै कर्मचारीलाई कामबाट निष्कासन गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा होटलमा आगजनीले क्षति पुगेको थियो ।
होटलको मर्मत सम्भारको काम सुरु भइसकेको छ र त्यसका लागि आर्थिक स्रोत जुटाएर खर्च व्यवस्थापन गर्नु आवश्यक रहेको होटेल व्यवस्थापनले जनाएको छ । सो अवधिमा सञ्चालनमा नरहेको होटलमा कर्मचारीलाई काममा लगाउन असमर्थ भएपछि सम्पूर्ण कर्मचारीलाई कामबाट निकालिएको हो ।
मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरिएको छ । मंगलबार राति जारी सूचनामा हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले होटलमा कार्यरत १३३ जनालाई कटौती गर्ने निर्णय गरिएको बताए ।
श्रमिक व्यवस्थापनका विकल्पबारे प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल गर्दा पनि कुनै निष्कर्षमा पुग्न नसकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस