Techie IT
२०८२ मंसिर २, मंगलबार

NPL Season2

एनपीएलमा नेपाली खेलाडीहरूको तोकियो पारिश्रमिक, विदेशीको किन गोप्य ?


नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले नेपालमा मात्र नभई विश्वभरका क्रिकेटप्रेमीहरूको ध्यान तानेको छ। यसको मुख्य कारण विश्वका एक दर्जनभन्दा बढी देशका चर्चित प्रशिक्षक र ‘स्टार’ खेलाडीहरूको एनपीएलमा सहभागिता पनि हो।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बेलायत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अमेरिका, न्युजिल्यान्ड, स्कटल्यान्ड, युगान्डा, नेदरल्यान्ड्स, नामिबिया, इटाली र वेस्ट इन्डिज गरी १५ देशका ४२ विदेशी खेलाडीहरू प्रतिस्पर्धा गर्दैछन्।

को-को छन् चर्चित विदेशी खेलाडी?

विभिन्न ८ फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका प्रमुख विदेशी खेलाडीहरू यस प्रकार छन्:

विराटनगर किंग्स: मार्टिन गप्टिल (न्युजिल्यान्ड), फाफ डु प्लेसिस (दक्षिण अफ्रिका), जर्ज मन्सी (स्कटल्यान्ड), साम हेजलेट (अष्ट्रेलिया), शुभम रन्जने (अमेरिका), मर्चन्ट डी लाङ (दक्षिण अफ्रिका)।

जनकपुर बोल्ट्स: लाहिरू मिलन्था र सञ्जय कृष्णमूर्ती (अमेरिका), लाहिरु समराकुन (श्रीलंका), जान निकोल लोफ्टी इटन (नामिबिया), वेन पार्नेल र इमरान ताहिर (दक्षिण अफ्रिका)।

चितवन राइनोज: डेविड मलान, रवी बोपारा र सइब अली जइब (इंग्ल्यान्ड), सोहेल तन्विर (पाकिस्तान), अल्पेश रामजनी (युगान्डा)।

काठमाण्डौ गोर्खाज: रिकार्डो भास्कोनेसेलोस (दक्षिण अफ्रिका), जेरहार्ड इरसमस (नामिबिया), मिलिन्द कुमार र सन्नी पटेल (अमेरिका), बेन चार्ल्सवर्थ र जोन सिम्पसन (इंग्ल्यान्ड)।

पोखरा एभेन्जर्स: जिम्मी निशम (न्युजिल्यान्ड), ड्यान डाउथवेट र एडम रोसिङटन (इंग्ल्यान्ड), रेमन्ड राइफर (वेस्ट इन्डिज)।

लुम्बिनी लायन्स: गुलबादिन नैब (अफगानिस्तान), डार्शी सर्ट (अष्ट्रेलिया), थोमस ड्राका (इटाली), जजे स्मिट र रुबेन ट्रम्पलमेन (नामिबिया)।

कर्णाली याक्स: शिखर धवन (भारत), विल बोसिस्टो (अष्ट्रेलिया), म्याक्स ओ’डाउड (नेदरल्यान्ड्स), मार्क वाट (स्कटल्यान्ड), प्रियांक पन्चल र जयकिसान कोल्सावाला (भारत), नाजिवुल्लह जाद्रान (अफगानिस्तान)।

सुदूरपश्चिम रोयल्स: क्रिस लिन र जोस ब्राउन (अष्ट्रेलिया), स्कट कुगेलेइन (न्युजिल्यान्ड), हर्मित सिंह (अमेरिका)।

नेपालीको तोकियो पारिश्रमिक, विदेशीको किन गोप्य ?

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएल खेल्ने नेपाली खेलाडीको पारिश्रमिक श्रेणीअनुसार २ लाखदेखि २२ लाख रुपैयाँसम्म तोकेको छ। तर, विदेशी खेलाडीहरूको हकमा भने न फ्रेन्चाइज टोलीहरूले पारिश्रमिक सार्वजनिक गरेका छन्, न त क्यानले नै यसमा चासो देखाएको छ।

क्यान निकट स्रोतका अनुसार, विदेशी खेलाडीको पारिश्रमिक, हवाई टिकट र नेपाल बसाइको खर्च जोड्दा औसतमा प्रति खेलाडी ३५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ। यस आधारमा हेर्दा, यो सिजनमा मात्रै झण्डै १५ करोड रुपैयाँ विदेशी खेलाडीका लागि विदेशिने देखिन्छ। कतिपय खेलाडीहरू लिगको बिचमै स्वदेश फर्किने भए पनि उनीहरूको सम्झौता रकम महँगो रहेको बताइन्छ।

आईपीएलमा पारदर्शी, यहाँ किन लुकाइन्छ?

छिमेकी मुलुक भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा स्वदेशी तथा विदेशी सबै खेलाडीको छनौट अक्सन (बोलकबोल) मार्फत गरिन्छ र उनीहरूले पाउने रकम पारदर्शी हुन्छ। तर, एनपीएलमा विदेशी खेलाडीको अनुबन्ध प्रक्रिया नितान्त गोप्य राखिएको छ। यहाँ सार्वजनिक लिलामी नभई फ्रेन्चाइज टोली, एजेन्ट र खेलाडीबीच सीधा व्यक्तिगत सम्झौता (Commercial Contract) हुने गरेको छ।

गोप्य राख्नुको भित्री कारण

अधिकारीहरूका अनुसार एनपीएल भर्खरै सुरु भएको र अन्य ठूला लिगको तुलनामा थोरै रकममा खेलाडी ल्याउनुपर्ने बाध्यताका कारण पारिश्रमिक गोप्य राखिएको हो।

क्यानका एक पदाधिकारीले भने, "विदेशी क्लबहरूले जस्तो धेरै रकम हामी तिर्न सक्दैनौं। त्यसैले व्यक्तिगत सम्बन्धका आधारमा थोरै रकममा मनाएर खेलाडी ल्याउनुपर्ने बाध्यता छ। रकम कम हुने भएकाले खेलाडीहरू आफैंले पनि आफ्नो 'बजार भाउ' घट्ने डरले सम्झौता रकम सार्वजनिक नगरिदिन अनुरोध गर्ने गरेका छन्। त्यसैले यो गोप्य राखिएको हो।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट