एनपीएलमा सुदूरपश्चिम फेरि चुक्यो, लुम्बिनीसँग ७ विकेटको लज्जास्पद हार
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। शनिबार राति टियु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले प्रस्तुत गरेको सामान्य ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। लुम्बिनीको जितमा डार्सी शर्टले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। त्यस्तै, ओपनर आशिफ शेखले ३२ रनको योगदान दिए। बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो । आज सुदूरपश्चिमका ब्याटरहरू पूर्ण रूपमा फ्लप साबित भए। कप्तान दीपेन्द्रसिंह ऐरीले २७, अनिल खरेलले अविजित १५ र सैफ जइबले १३ रन बनाएबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमलाई सजिलै समेट्ने क्रममा लुम्बिनीका किशोर महतोले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए । यस्तै, शेर मल्लले ३ तथा शेड्ली भान शाल्कविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले एक–एक विकेट हात पारे। तीन विकेट लिँदै किफायती बलिङ गरेका शेर मल्ल 'प्लेयर अफ द म्याच' घोषित भए।
दबाब र विकेट पतनको श्रृंखला
गत वर्षको फाइनलमा भोगेको हारको बदला लिने अवसर पाएको सुदूरपश्चिमले पहिलो खेलमै लज्जास्पद प्रदर्शन गर्यो। फ्लडलाइटमुनि खेलिएको पहिलो रात्रि खेलमा सुदूरपश्चिमले न त ब्याटिङमा सम्हालिन सक्यो न त बलिङमा कुनै दबाब सिर्जना गर्न सक्यो।
सुरुवाती ३ ओभरमा २४ रन बनाएर राम्रो संकेत देखाएको सुदूरपश्चिम चौथो ओभरको पहिलो बलमा विनोद भण्डारी (एलबीडब्ल्यू) आउट भएपछि संकटमा फस्यो। पाँचौँ ओभरमा किशोर महतोले आरिफ शेख (शून्य) र ब्रान्डन म्याकमुलेन (२ रन) लाई आउट गर्दै खेललाई पूर्ण रूपमा लुम्बिनीको पक्षमा ढल्काए।
पावरप्ले समाप्त हुनै लाग्दा सैफ जइब (१३ रन) पनि आउट भए। यसरी लगातारको विकेट पतनका कारण सुदूरपश्चिमले ४२ बलसम्म बाउन्ड्री प्रहार गर्न सकेन। १३औँ ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी (२७ रन) आउट भएपछि सुदूरपश्चिमको इनिस पूर्ण रूपमा तहसनहस भयो। पुछारका ब्याटरहरू टिकेर खेल्न नसक्दा टोली १७.२ ओभरमा ८७ रनमा खुम्चिन बाध्य भयो।



तपाईको प्रतिक्रिया दिनुहोस