Techie IT
२०८२ माघ १६, शुक्रबार

गत साता ११५ अंकले उक्लिएको शेयर बजार यो साता के होला ?


गत साता सेयर कारोबार मापक नेप्से परिसूचक ११५.७४ अंकले उक्लिँदै २६७६.०३ विन्दुमा पुगेको छ। अघिल्लो साताको तुलनामा यो ४.५२ प्रतिशत वृद्धि हो। पाँच कारोबार दिन खुल्दा सबै दिन नेप्से हरियो रहेपछि बजारमा लगानीकर्ताको मनोबल बलियो भएको मान्न सकिन्छ।

साताभरमा २३९ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको घटेको छ। मूल्य बढ्ने कम्पनी बढी रहेकाले नेप्से समग्रमा उकालो लागेको विश्लेषण गरिन्छ।

यस सातामा सबै उपसमूहमा उकालो देखियो। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमूह ७.२४ प्रतिशतले उक्लियो भने व्यापार उपसमूह ०.२० प्रतिशतले मात्र बढ्यो। जीवन बिमा, होटल तथा पर्यटन, निर्जीवन बिमा, बैंकिङ, लगानी, लघुवित्त, अन्य, विकास बैंक, जलविद्युत् र फाइनान्स उपसमूहमा पनि वृद्धि देखिएको छ।

बढ्ने–घट्ने कम्पनीहरूमा सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार एन्ड टुरिजम लगायतका कम्पनीका सेयरमा उल्लेख्य वृद्धि भयो। सागर डिस्टिलरी ६१.०१ प्रतिशतले उक्लियो भने नारायणी विकास बैंक १०.९३ प्रतिशतले बढेको थियो ।

यता पिपल्स हाइड्रोपावर, धौलागिरि लघुवित्त, सप्तकोशी विकास बैंक, मोदी इनर्जी, उन्नति सहकार्य लघुवित्तलगायतका कम्पनीका सेयर मूल्य घटेका छन्।

कारोबारका आधारमा एनआरएन इन्फ्रा एन्ड डेभलपमेन्ट २ अर्ब ४ करोड ९१ लाख रुपैयाँको कारोबारसहित शीर्षमा रह्यो।
हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, नेपाल रिइन्स्योरेन्स, राधी विद्युत् कम्पनी, ङादी ग्रुप पावर, नेपाल लाइफ इन्स्योरेन्स, बन्दीपुर केबलकार एन्ड टुरिजम, हिमालयन डिस्टिलरी र बरुण हाइड्रोपावर पनि कारोबार रकमका आधारमा अग्रस्थानमा परे।

नेप्सेको उकालोसँगै बजार पुँजीकरण १ खर्ब ९४ अर्ब ३३ करोडले बढेर ४४ खर्ब ९३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साता यो ४२ खर्ब ९८ अर्ब ७८ करोड रुपैयाँ थियो।

नेप्सेले साताभर बुलिश मारुबोजु क्यान्डल बनाएको छ, जसले बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्छ। दैनिक औसत ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ, जुन २० दिने औसतभन्दा २५ प्रतिशत बढी हो।

एमएसिडी पनि सकारात्मक देखिँदै बुलिश प्रवृत्ति झल्काएको छ। स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेकाले बजारमा खरिदचाप बलियो रहेको प्रष्ट हुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट