वीरगञ्ज भन्सार कार्यालयको आजको राजश्व शुन्य
राष्ट्रिय राजश्वमा सबैभन्दा बढी योगदान दिने वीरगञ्ज भन्सार कार्यालयको राजश्व सङ्कलन मंगलबार शुन्यमा झरेको छ। भन्सार एजेन्टहरूले मंगलबार बिहानैदेखि ‘पेन डाउन’ (कागजी काम बन्द) गर्दै आन्दोलनमा उत्रिएपछि कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको हो।
भन्सार ऐन, २०८२ का केही प्रावधानहरूको विरोधमा भन्सार एजेन्ट महासंघ नेपालले देशव्यापी आन्दोलन घोषणा गरेपछि वीरगञ्ज भन्सार कार्यालयको सबै गतिविधि अवरुद्ध भएको हो। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, “भन्सार एजेन्टहरूको काम बन्दका कारण राजश्व सङ्कलन शुन्यमा पुगेको छ। यसअघि आईतवारदेखि आन्दोलन सुरु भए पनि छलफल मार्फत कामकाज जारी राखिएको थियो, तर मंगलबार बिहानैदेखि आन्दोलन व्यापक भएको छ।”
भन्सार एजेन्ट संघ, वीरगञ्जका अध्यक्ष राजमान तामाङले भन्सार ऐन, २०८२ को उपदफा ७१ (झ) को व्यवस्था अव्यावहारिक रहेको भन्दै त्यसलाई हटाउन माग गरेका छन्। उनका अनुसार, उक्त उपदफा अनुसार स–साना मानवीय त्रुटिका कारण घोषणा रकमको १० प्रतिशत जरिवाना भन्सार एजेन्टले स्वयं तिर्नुपर्ने प्रावधानले उनीहरूलाई ठूलो आर्थिक भार परेको छ। तामाङले भने, “यो प्रावधान हटाइएसम्म एजेन्टहरू काममा फर्किने छैनन्।”
वीरगञ्ज भन्सार कार्यालय मासिक साढे सत्र अर्ब रुपैयाँ र प्रतिदिन ५७ करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गर्ने गरेको छ। यस नाकाबाट नेपालका लागि ७५ प्रतिशतभन्दा बढी खाद्य पदार्थ, ७० प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थ आयात हुन्छ। यस नाकामा आएको अवरोधले यदि सरकारले छिटो समाधान गरेन भने देशभरका उपभोक्ताहरूले यसको नकारात्मक प्रभाव व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ।



तपाईको प्रतिक्रिया दिनुहोस