Techie IT
२०८२ पौष १, मंगलबार

मौद्रिक समीक्षा पछि पुसमा बैंक ब्याजदर लाग्यो ओरालो


नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंक तथा वित्तीय संस्थाहरूले पुस महिनाका लागि ब्याजदर थप घटाएका छन्। उच्च तरलता र न्यून कर्जा प्रवाहको अवस्था कायम रहँदा नीतिगत दर घटाइएपछि बैंकको ब्याजदरमा थप दबाब परेको हो।

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षाबाट नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरेको थियो। यससँगै बैंकहरूले पुसका लागि सार्वजनिक गरेका ब्याजदर मंसिरको तुलनामा घटेका छन्।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले घटेको छ। मंसिरमा औसत ५.०४०५ प्रतिशत रहेको व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर पुसमा घटेर ४.८३४ प्रतिशतमा सीमित भएको छ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कमी आउने गर्दछ। निक्षेपको ब्याजदर घटेसँगै आधार दर कम हुने र त्यसको असर कर्जाको ब्याजदरमा समेत पर्ने देखिन्छ।

पुसमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल झरेको छ। मंसिरमा ६ प्रतिशत ब्याजदर दिँदै आएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम ब्याजदर ५.५ प्रतिशतमा झारेको छ।

मंसिरको तुलनामा पुसमा १३ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकले यथावत् राखेका छन्। अधिकांश बैंकले ब्याजदर घटाउँदा समग्र औसत ब्याजदर पनि ओरालो लागेको हो।

ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई बैंक छन्।

त्यसैगरी माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंकले ब्याजदर स्थिर राखेका छन्।

हाल बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर प्रदान गर्दै आएका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घट्दो क्रममा रहेको छ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैंक ब्याजदर व्यवस्थापन गर्न निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायतका उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट तरलता खिच्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट