वीरगञ्ज नाकाबाट छ महिनामै ७ अर्ब ६४ करोडको दाल भित्रियो
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु सात अर्ब ६४ करोड मूल्य बराबरका सात प्रकारका दलहनजन्य खाद्यान्न आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब ८३ करोडको दलहन आयात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको छ महिनामा दलहन आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार तथ्याङ्कअनुसार चालु आवको छ महिनामा सबैभन्दा धेरै रु तीन अर्ब ८२ करोड मूल्यको मुसुरो दाल आयात भएको छ । त्यस्तै रु एक अर्ब १७ करोड बराबरको सिमी–राज्मा र रु एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।
यसैगरी रु एक अर्ब मूल्यका अन्य गेडागुडी आयात भएका छन् भने रु २७ करोड बराबरको रहरको दाल र रु १६ करोड मूल्यको केराउ भित्रिएको छ । साथै रु पाँच करोड १० लाख मूल्यका बकुल्ला पनि आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस