छ महिनामा वाणिज्य बैंकको नाफा १२%ले उक्लियो, शीर्षमा नबिल
आर्थिक वर्ष २०८२–८३ को पहिलो छ महिना (साउनदेखि पुस) मा वाणिज्य बैंकहरूको नाफा १२ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार यस अवधिमा कुल नाफा ३० अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
हाल वाणिज्य बैंकहरूको औसत नाफा एक अर्ब ५५ करोड रुपैयाँ रहेको छ । नाफाका आधारमा नबिल बैंक अग्रस्थानमा रहँदै ४७ प्रतिशत वृद्धि सहित चार अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ ।
खुद ब्याज आम्दानी र प्रति सेयर आम्दानी (ईपीएस) मा पनि नबिल बैंक शीर्ष स्थानमा छ । बैंकको खुद ब्याज आम्दानी आठ अर्ब आठ करोड रुपैयाँ पुगेको छ भने प्रति सेयर आम्दानी ३५.०४ रुपैयाँ छ । बैंकहरूको औसत खुद ब्याज आम्दानी चार अर्ब ७९ करोड रुपैयाँ र औसत प्रति सेयर आम्दानी १६.३ रुपैयाँ रहेको छ ।
तर नाफा बढ्दो क्रममा रहे पनि कर्जा असुली बैंकहरूको प्रमुख चुनौती बनेको छ । कर्जा असुली प्रभावित हुँदा निस्क्रिय कर्जा (एनपीएल) को अनुपातसमेत बढेको देखिन्छ । हाल बैंकहरूको औसत निस्क्रिय कर्जा ५.०९ प्रतिशत पुगेको छ भने चार वाणिज्य बैंकको यस्तो कर्जा सात प्रतिशतभन्दा माथि छ । नबिल बैंकको एनपीएल भने ४.२५ प्रतिशत रहेको छ ।
यसैबीच नबिल बैंकले हालै पाँच अर्ब रुपैयाँ बराबरको आठ प्रतिशत ब्याजदरको अग्राधिकार सेयर जारी गरेसँगै चुक्ता पुँजी २७ अर्बबाट बढेर ३२ अर्ब रुपैयाँ पुगेको छ । यस्तो अविमोच्य असञ्चिति अग्राधिकार सेयर भविष्यमा साधारण सेयरमा परिणत गर्न सकिने व्यवस्था समेत रहेको छ । साथै, कुनै वर्ष लाभांश वितरण नभए पनि सो वर्षको लाभांश अन्य वर्षमा दिनैपर्छ भन्ने बाध्यता नहुने प्रावधान छ । अग्राधिकार सेयरधनीलाई लाभांश वितरणमा पहिलो प्राथमिकता दिइन्छ ।
चुक्ता पुँजी बढेसँगै बैंकको कुल पुँजी कोष अनुपात ११.७८ प्रतिशतबाट बढेर १२.७७ प्रतिशत पुगेको छ । जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात कम्तीमा ८.५ प्रतिशत र कुल पुँजी अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था अनुसार बैंक सहज अवस्थामा देखिएको छ । पछिल्लो समय करिब ३० प्रतिशत हाराहारी तरलता रहेकाले दायित्व भुक्तानीमा पनि सहजता रहेको बैंकले जनाएको छ ।
सेयर संरचनातर्फ बैंकको ५८.४४ प्रतिशत हिस्सा संस्थापक समूह र ४१.५६ प्रतिशत सर्वसाधारणको रहेको छ । संस्थापक सेयरधनीमा एनबी इन्टरनेसनलको ३९.४४ प्रतिशत, बंगलादेशी बैंक आइएफएलसीको ७.७७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत, निर्वाण चौधरीको ०.७० प्रतिशत र वरुण चौधरीको ०.६७ प्रतिशत स्वामित्व छ ।
हालै बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली छन् । सञ्चालक समितिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह पनि नियुक्त भएका छन् । नयाँ नेतृत्वसँगै बैंक सञ्चालनमा नयाँ ‘सिनर्जी’ थपिएको बताइएको छ ।
दोस्रो त्रैमाससम्मको नाफाका आधारमा वार्षिकीकरण गरिएको बैंकको लाभांश क्षमता २२ प्रतिशत पुगेको छ । बैंकले आर्थिक वर्ष २०८१–८२ को नाफाबाट लगानीकर्तालाई १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने पाँच वर्षको औसत लाभांश दर २०.३ प्रतिशत रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस