Techie IT
२०८२ माघ १९, सोमबार

छ महिनामै मुद्रास्फीति २.४२%


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ। मंसिरदेखि बढ्न थालेको मुद्रास्फीति दर १.६६ प्रतिशत पुगेको थियो भने पुस मसान्तमा थप वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक देखिएको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.१९ प्रतिशत थियो। चालु आर्थिक वर्षको छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत पुगेको छ, जब कि अघिल्लो वर्षको यही अवधिमा औसत ४.९७ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत तथा गैर–मदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ। तर दाल तथा गेडागुडी ५.५२ प्रतिशत, मरमसला ३.९२ प्रतिशत तथा खाद्य तथा खाद्यजन्य पदार्थ ३.७० प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ।

गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क २१.७५ प्रतिशतले बढेको छ। शिक्षामा ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थमा ४.१५ प्रतिशत तथा मदिराजन्य पेय पदार्थमा ३.८५ प्रतिशतले मूल्य वृद्धि भएको छ। बिमा तथा वित्तीय सेवा उप–समूह भने ०.०३ प्रतिशतले घटेको छ।

क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रमा मुद्रास्फीति १.९९ प्रतिशत र सहरी क्षेत्रमा २.५७ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कोशीमा ३.२५ प्रतिशत, मधेशमा ३.३७ प्रतिशत, बागमतीमा २.१० प्रतिशत, गण्डकीमा १.७६ प्रतिशत, लुम्बिनीमा २.६२ प्रतिशत, कर्णालीमा १.०८ प्रतिशत र सुदूरपश्चिममा १.२७ प्रतिशत मुद्रास्फीति कायम रहेको छ।
काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८ प्रतिशत रहेको छ भने तराईमा २.६५ प्रतिशत, पहाडमा १.९४ प्रतिशत र हिमालमा २.६६ प्रतिशत रहेको छ।

२०८२ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ४.०१ प्रतिशत थियो। यस्तै, तलब तथा ज्याला सूचकाङ्कतर्फ हेर्दा आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासमा वार्षिक बिन्दुगत सूचकाङ्क ६.०३ प्रतिशतले वृद्धि भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट