Techie IT
२०८२ चैत्र १, आइतबार

बझाङको सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि खुल्ने


सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर अति प्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाअन्तर्गत बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता शेयर बुंगल नगरपालिका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दालाई वितरण गरिनेछ।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ५ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ लाख ७० हजार कित्ता शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ। आयोजनामा गरिएको लगानी साधारण रूपमा ८.२५ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने छुटदर (डिस्काउन्ट) मा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै बुंगलस्थित पावरहाउस कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। शेयर आवेदन फाराम प्राप्त गर्न स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट