Techie IT
२०८३ वैशाख ३, बिहीबार

भैरहवा नाकामा हन्ड्रेड रुलले तरङ्ग: सर्वसाधारणलाई सास्ती कि राजस्व सुरक्षा?


सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा विनाभन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले 'हन्ड्रेड रुल' (१०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार) लाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ।

मुख्य नाका बेलहिया र सीमावर्ती फरेनिया लगायतका साना नाकाहरूमा सशस्त्र प्रहरीले माइकिङ गर्दै १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने जानकारी गराइरहेको छ। विगतमा फितलो बनेको यो व्यवस्थालाई सरकारको पछिल्लो निर्देशन र स्थानीय प्रशासनको सक्रियतामा पुनः प्रभावकारी बनाइएको हो।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुङ्गानाका अनुसार यो व्यवस्था अघिल्लो हप्तादेखि नै पूर्ण रूपमा लागू भइसकेको छ। "सुरुमा केही गुनासो आए पनि अहिले सचेतना फैलाइएको छ। यसले ठूलो राजस्व नउठे पनि चुहावट नियन्त्रण र कानुनी शासन कायम गर्न मद्दत गर्नेछ," उनले भने।

उपभोक्ताको आक्रोश: "१०० को सीमा अव्यवहारिक"
भन्सारको यो निर्णयप्रति सर्वसाधारणले भने तीव्र असन्तुष्टि जनाएका छन्। सीमा नाकामा पुगेपछि मात्र नियमबारे थाहा पाउँदा अनपेक्षित झन्झट बेहोर्नुपरेको उनीहरूको गुनासो छ। उपभोक्ताहरूका अनुसार नेपालको तुलनामा भारतीय बजार सस्तो र गुणस्तरीय भएकाले उनीहरू त्यता आकर्षित भएका हुन्। "नेपालमै सस्तो र सहज सामान पाइने भए हामी किन बाहिर जान्थ्यौँ र? १०० को सीमा त ज्यादै अव्यवहारिक भयो," एक सर्वसाधारणले गुनासो गरे।

सिद्धार्थ उद्योग वाणिज्य संघले भने यो कदमको स्वागत गरेको छ। सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले सीमा क्षेत्रमा हुने अनियन्त्रित खरिद-बिक्रीले स्थानीय व्यवसायीलाई धराशायी बनाएको उल्लेख गर्दै यो कडाइलाई सकारात्मक भनेका छन्।

यद्यपि, उनले १०० को सीमालाई व्यवहारिक बनाउन सुझाव दिँदै भने, "न्यून आय भएकालाई मर्का नपर्ने गरी यो सीमालाई १५०० देखि २००० सम्म पुर्‍याउँदा उपयुक्त हुन्छ।" उनले व्यवसायीहरूलाई पनि थोरै नाफा खाएर गुणस्तरीय सामान बेच्न आग्रह गरेका छन्।

भन्सार प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी निगरानी बढाएको छ। घरायसी प्रयोजनका नाममा हुने अवैध आयात रोकेर स्थानीय बजार चलायमान बनाउन र वैधानिक व्यापार प्रवर्द्धन गर्न कुनै सम्झौता नगर्ने भन्सार कार्यालयको अडान छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट