भुटानको शिंताफू हिमतालबाट आएको बाढीले बगायो मुख्य सडक, दुर्गम क्षेत्र सम्पर्कविहीन
भुटानको उत्तरमा रहेको शिंताफू हिमताल अचानक फुटेर ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक भाग पूर्ण रूपमा बगाएको छ। सडक संरचना ध्वस्त भएसँगै दुर्गम मानिने लाया क्षेत्र भुटानको बाँकी भूभागबाट पूर्ण रूपमा विच्छेद हुन पुगेको छ।
उत्तरी भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट रातको करिब ८:१५ बजे ताक्तसेमाखाङ पुगेको बाढीले लाया-जोखांग जोड्ने सडक खण्डमा व्यापक क्षति पुर्याएको छ। घटनालगत्तै अर्को सूचना जारी नभएसम्मका लागि उक्त मार्गमा सबै खाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
बाढीको जोखिम बढेपछि भुटानका सरकारी अधिकारीहरूले जोखिमयुक्त तटीय क्षेत्रमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्। सम्भावित विपत्तिलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले पूर्वसावधानीका उपायहरू कडाइका साथ लागू गरेको छ भने छिमेकी क्षेत्रहरूलाई समेत उच्च सतर्क अवस्थामा राखिएको छ। राहतको कुरा, हालसम्म घटनामा कुनै मानवीय क्षतिको खबर आएको छैन।
रातको अँध्यारोका कारण हिमतालबाट कति परिमाणमा पानी बाहिरियो र बाढीले कति क्षति पुर्यायो भन्ने पूर्ण विवरण आउन बाँकी छ। यद्यपि, प्रारम्भिक अध्ययनले बाढीको प्रभाव निकै ठूलो हुनसक्ने देखाएको छ।
यस घटनाको असर छिमेकी भारतको पश्चिम बङ्गालमा पनि परेको छ। भुटानको बाढी तल्लो तटीय क्षेत्रतर्फ बग्न सक्ने भन्दै पश्चिम बङ्गालका वनमन्त्री मनोज कुमार ओरांवले संकोश नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्। उनले स्थानीय प्रशासन तथा सुरक्षा अधिकारीहरूलाई तटीय क्षेत्रका बासिन्दासँग निरन्तर सम्पर्कमा रहन र आवश्यक परेमा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस