काँकरभिट्टा नाकामा किन भयो आवागमन ठप्प ?
भारतको पश्चिम बंगालमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि नेपाल–भारत पूर्वी सीमा नाका बन्द गरिएको छ।
दार्जिलिङ जिल्ला प्रशासनले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म पानीटङ्की नाका हुँदै हुने मानिस तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय झापा का सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
वैशाख १० गते हुने विधानसभाको चुनावका कारण ‘बोर्डर सिल’ गरिएको हो। यस अवधिमा सर्वसाधारण र सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। यद्यपि, बिरामीको उपचार तथा अत्यावश्यक कामका लागि भने आवश्यक परिचयपत्रका आधारमा सीमित आवतजावतको व्यवस्था गरिएको छ।
त्यस्तै, नेपाल र बङ्गलादेशका पर्यटकलाई आफ्नो मुलुक फर्किन आवश्यक कागजात देखाएमा भारतीय पक्षले सहजीकरण गर्ने जनाएको छ। विगतमा पनि दुवै देशबीचको सहमतिमा चुनावअघि यस्तै व्यवस्था लागू हुँदै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस