कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको कडा चेतावनी
मौसम प्रतिकूल हुने सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा सवारी आवागमन नगर्न उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।
गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको सूचनालाई आधार मान्दै प्रशासनले यो चेतावनी जारी गरेको हो। विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको उच्च जोखिम रहेकाले पर्यटक र स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले मौसम बिग्रँदा अत्यधिक चिसो बढ्ने, सडकमा पहिरो खस्ने तथा सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने बताएका छन्। उनले यस अवधिमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेका छन्।
यसैबीच, लोमन्थाङ गाउँपालिकाले पनि मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम अत्यधिक बढेको जनाएको छ। गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो भई सवारी दुर्घटना हुने र बाटो अवरुद्ध हुन सक्ने खतरा औँल्याएका छन्।
सम्भावित दुर्घटना र जोखिम टार्न गाउँपालिकाले मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकहरूलाई विशेष अनुरोध गरेको छ। साथै, मौसममा सुधार नआएसम्म उक्त क्षेत्रको यात्रा तथा सवारीसाधनको आवागमन पूर्ण रूपमा स्थगित गर्न आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस