नेपालगञ्ज भन्सारको राजस्व बढ्यो
भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लागू गरिएसँगै नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ।
सीमा नाकामा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार लिने नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिएपछि विगतका महिनाहरूको तुलनामा राजस्व सङ्कलन बढेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिएका छन्।
भन्सार प्रशासनमा कडाइ गरिएपछि विशेष गरी चैत र वैशाख महिनामा राजस्वमा सकारात्मक प्रभाव देखिएको छ। कार्यालयका अनुसार फागुनमा रु १ अर्ब ९३ करोड ३८ लाख १९ हजार राजस्व संकलन भएको छ । चैतमा रु २ अर्ब १४ करोड २५ लाख ५४ हजार
संकलन भएको थियो भने वैशाखमा रु १ अर्ब ८४ करोड २८ लाख २१ हजार राजस्व उठेको छ ।
सामान्य किनमेलका लागि समेत सीमापारि भारतीय बजार रुपैडिहा जाने प्रवृत्तिको अन्त्य गर्न नाकामा कडाइ गरिएको हो। यस कदमले राजस्व वृद्धि मात्र नभई नेपालगञ्जको स्थानीय व्यापार व्यवसायलाई समेत चलायमान बनाउन मद्दत पुगेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए।
नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको अवधिमा वार्षिक लक्ष्यको करिब ६८ प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ। चालु आवका लागि कुल २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ (अर्थात् ६८.२ प्रतिशत) असुली भइसकेको छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीका अनुसार सीमा नाकामा गरिएको कडाइका कारण धेरै उपभोक्ताहरू सीमापारि जान छाडेका छन्। यसले गर्दा नेपाली बजारमा ग्राहकको चहलपहल बढेको र स्थानीय अर्थतन्त्र सुधारोन्मुख बन्दै गएको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस