Techie IT
२०८३ असार ४, बिहीबार

८० करोड परिवारको जीवन धान्दै रेमिट्यान्स


File photo

आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस (आईडीएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ।

विश्वभरका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार तथा समुदायको जीवनस्तर उकास्न पुर्‍याएको योगदानको सम्मानस्वरूप यो दिवस मनाउने गरिएको हो।

यस वर्षको दिवसका अवसरमा आईडीएफआरले विप्रेषण (रेमिट्यान्स) लाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न आह्वान गरेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। पछिल्लो एक दशकमा आप्रवासीहरूले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा करिब पाँच खर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन वैदेशिक विकास सहायता रकमभन्दा बढी तथा प्रत्यक्ष वैदेशिक लगानीसरह रहेको उल्लेख गरिएको छ। तीमध्ये एकतिहाइभन्दा बढी रकम ग्रामीण क्षेत्रमा पुगेको अनुमान गरिएको छ।

अभियानका अनुसार विश्वको करिब ४४ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छ भने अत्यधिक गरिबीमा रहेका झण्डै ८० प्रतिशत मानिस पनि यिनै क्षेत्रमा केन्द्रित छन्। जलवायुजन्य विपद्, बजार अस्थिरता तथा आर्थिक जोखिमको सामना गरिरहेका ग्रामीण क्षेत्रहरूमा विकासका अपार सम्भावना रहेको अभियानले जनाएको छ।

हाल न्यून तथा मध्यम आय भएका मुलुकहरूमा वार्षिक करिब ७०० अर्ब अमेरिकी डलर बराबरको विप्रेषण भित्रिने गरेको छ। सन् २०३० सम्म यस्ता मुलुकहरूमा थप ४ खर्ब ४० अर्ब अमेरिकी डलर विप्रेषण प्रवाह हुने अनुमान गरिएको छ।

दिगो विकासका लागि सन् २०३० को कार्यसूचीअन्तर्गत रहेको दिगो विकास लक्ष्य (एसडीजी) १० (सी) ले विप्रेषण कारोबारको लागत तीन प्रतिशतभन्दा कममा झार्ने तथा पाँच प्रतिशतभन्दा बढी शुल्क लाग्ने मार्गहरू हटाउने लक्ष्य राखेको छ। विप्रेषणले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा आर्थिक स्थायित्वजस्ता क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्‍याउँदै आएको बताइएको छ।

अभियानले निजी क्षेत्रलाई सस्तो, सहज र प्रतिस्पर्धी विप्रेषण सेवा विस्तार गर्न, विप्रेषणसँग सम्बन्धित वित्तीय उत्पादन विकास गर्न तथा प्रवासी समुदायको पूँजी र उद्यमशीलतालाई ग्रामीण बजार सुदृढीकरणमा परिचालन गर्न आग्रह गरेको छ। त्यस्तै, सार्वजनिक क्षेत्रलाई डिजिटल वित्तीय समावेशीकरण, लगानीमैत्री नीति तथा ग्रामीण बजार एकीकरणका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिन सुझाव दिइएको छ।

हाल विप्रेषणको करिब ७५ प्रतिशत हिस्सा परिवारका तत्कालीन आवश्यकतामा खर्च हुने गरेको छ भने बाँकी २५ प्रतिशत अर्थात् वार्षिक १०० अर्ब अमेरिकी डलरभन्दा बढी रकम बचत तथा लगानीका लागि उपयोग हुन सक्ने अनुमान गरिएको छ। उपयुक्त वित्तीय सेवा तथा लगानीका अवसर उपलब्ध गराउन सके विप्रेषणलाई दीर्घकालीन आर्थिक विकास, उद्यम विस्तार र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार बनाउन सकिने अभियानको निष्कर्ष छ।

तथ्याङ्कअनुसार विश्वका ८० भन्दा बढी मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा विप्रेषणको हिस्सा कम्तीमा तीन प्रतिशत रहेको छ भने ३० वटा मुलुकमा यो हिस्सा १० प्रतिशतभन्दा बढी छ। यसले विप्रेषण सामाजिक तथा आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बनिसकेको देखाउँछ। विशेषगरी ग्रामीण क्षेत्रमा विप्रेषणले आर्थिक गतिविधि विस्तार, जीविकोपार्जन सुधार तथा समुदायको समग्र उत्थानमा उल्लेखनीय योगदान पुर्‍याइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट