साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आउने, काठमाडौँ छिर्ने सवारीले कति तिर्नुपर्ला ?
बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। आयोजना सञ्चालनमा आएपछि काठमाडौँ प्रवेश तथा बाहिरिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्डको यातायात व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन् भने आकस्मिक उद्धार, सुरक्षा तथा सवारी व्यवस्थापनसम्बन्धी परीक्षण भइरहेको छ।
“सुरुङभित्रका सबैजसो काम सकिएका छन्। आकस्मिक अवस्था आएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अभ्यास तथा परीक्षण भइरहेको छ,” निर्देशक नेपालले भने, “सुरुङमार्ग बाहिरको पहिरो नियन्त्रणसम्बन्धी केही काम मात्रै बाँकी छ।”
नागढुङ्गा–नौबिसे सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ। प्रारम्भिक ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन सकेको थिएन।
हाल सुरुङमार्ग सञ्चालन र व्यवस्थापनसम्बन्धी अभ्यास भइरहेको आयोजनाले जनाएको छ। सुरुङमार्ग प्रयोग गरेबापत लाग्ने टोल शुल्क सङ्कलनका लागि बैंक छनोट, कार्ड छपाइ तथा प्रविधि जडानलगायतका प्रक्रिया पनि अगाडि बढाइएको छ।
आयोजनाले सुरुङमार्गको शुल्क तिर्न तीनवटा विकल्प उपलब्ध गराउने भएको छ। सवारी चालकले नगदमार्फत भुक्तानी गर्न सक्नेछन् भने ‘क्यूआर कोड’ स्क्यान गरेर वा सवारीसाधनमा टाँसिएको स्टिकरलाई उच्च क्षमताको क्यामेराले रिड गरी स्वचालित रूपमा शुल्क तिर्ने व्यवस्था पनि गरिनेछ।
बोलपत्र प्रक्रियामार्फत युसिन एआरटी कम्पनीले एक अर्ब १० करोड रुपैयाँ लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मेवारी पाएको छ। कम्पनीले वर्षभरि २४सै घण्टा सेवा सञ्चालन गर्नेछ।
आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनमा करिब १५० जना जनशक्ति खटिनेछन्। पूर्ण रूपमा सञ्चालनमा आएपछि व्यस्त समयमा एकैपटक ४० जना कर्मचारी परिचालन गरिनेछ।
काठमाडौँ प्रवेश तथा बाहिरिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड हुँदै दैनिक औसत आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। यद्यपि, दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नागढुङ्गा–नौबिसे सुरुङमार्गको टोल शुल्क निर्धारण गरेको थियो।
सुरुङमार्ग प्रयोग शुल्क
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधन
काठमाडौँ प्रवेश गर्दा : रु ६५
काठमाडौँबाट बाहिरिँदा : रु ६०
मिनीबस, मिनी ट्रक तथा मिनी टिपर
काठमाडौँ प्रवेश गर्दा : रु १२५
काठमाडौँबाट बाहिरिँदा : रु ८०
बस तथा सिङ्गल रियर एक्सल ट्रक
काठमाडौँ प्रवेश गर्दा : रु २६०
काठमाडौँबाट बाहिरिँदा : रु २००
मल्टिएक्सल ट्रक तथा भारी उपकरण
काठमाडौँ प्रवेश गर्दा : रु ६००
काठमाडौँबाट बाहिरिँदा : रु २५०
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम घट्नुका साथै यात्रा समय, इन्धन खर्च र सवारी सञ्चालन लागतमा समेत उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस