काँकडभिट्टा नाकाबाट १२ अर्बको अलैँची निर्यात
अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको मागमा आएको उल्लेख्य वृद्धिसँगै काँकडभिट्टा नाका हुँदै हुने निर्यात कारोबारले नयाँ उचाइ चुमेको छ। भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस नाकाबाट सात अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष निर्यात कारोबारमा चार अर्ब ९६ करोड २९ लाख ३३ हजार रुपैयाँ अर्थात् करिब ६४.६५ प्रतिशतले वृद्धि भएको छ।
कारोबार मूल्यमा मात्र नभई परिमाणमा पनि निर्यात उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षमा यस नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ, जबकि अघिल्लो आवमा ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्र निर्यात भएको थियो।
भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको गुणस्तर र अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग नै यो सफलताको प्रमुख कारण हो। नेपालको पूर्वी पहाडी क्षेत्रका किसानहरूको मुख्य नगदे बालीका रूपमा रहेको अलैँचीले मुलुकको विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस