३५० रुपैयाँको कारोबारले चमक्यो पुडासैनीको भाग्य, जिते १० लाखको बम्पर उपहार
करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार नेपाल प्रहरीका असई (प्रहरी नायब निरीक्षक) तुल पुडासैनीले जितेका छन्। आन्तरिक राजस्व विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा एक कार्यक्रमबीच सो उपहारको घोषणा गरेको हो।
साउन महिनाको दोस्रो १५ दिनमा हरेक दिनका एक-एक जना र कुल सहभागीमध्येबाट गोलाप्रथाद्वारा छनोट गरिएका एक बम्परसहित १७ जना उपभोक्ता विजेता बनेका छन्। सोही क्रममा पुडासैनीले महिनाको मुख्य बम्पर उपहार हात पार्न सफल भएका हुन्। उनले मोबाइलको कभर र ग्लास (सिसा) फेर्दा तिरेको मात्र ३५० रुपैयाँको सानो कारोबारमार्फत यो ठूलो सफलता प्राप्त गरेका हुन्।
हाल बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत पुडासैनीले आफ्नो स्थायी घर बाराको सिमरा भएको बताएका छन्। अर्थ मन्त्रालयसँगको कुराकानीमा उनले आफ्नो खुसी साट्दै भने, “मोबाइलको कभर र सिसा फेर्न दुई-तीनवटा पसल चहार्दै 'गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सर्भिस' पुगेको थिएँ। त्यहीँ गरेको सामान्य कारोबारबाट १० लाख रुपैयाँको बम्पर उपहार परेको सुन्दा अचम्म र खुसी लाग्यो।”



तपाईको प्रतिक्रिया दिनुहोस