प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ५४ करोडभन्दा बढी सङ्कलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम तीव्र रूपमा जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म यस कोषको खातामा कुल १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ रुपैयाँ मौज्दात रहेको छ।
कार्यालयको विवरण अनुसार गत भदौ २६ गते साँझ ५ बजेपछि मात्रै कोषमा थप २८ करोड २० लाख १४ हजार ३६६ रुपैयाँ जम्मा भएको छ। सरकारले स्थापना गरेको यो सहायता रकम विभिन्न नौवटा बैंकहरूमा रहेका खाताहरूमा सङ्कलित छ। यसअघि सरकारले यसै कोषबाट बाढीपीडितहरूको उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
यसैबिच, कोष अन्तर्गत रहेका दुईवटा अमेरिकी डलर (USD) खातामा पनि विदेशी सहयोग रकम थपिने क्रम जारी छ। भदौ २६ गते साँझ ५ बजेपश्चात् यी डलर खाताहरूमा थप १ लाख ५४ हजार ७७० अमेरिकी डलर थपिएको छ। यससँगै कोषमा जम्मा हुने कुल अमेरिकी डलर २ करोड ३४ लाख ३८ हजार ८४७ पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस