Techie IT
२०८३ असोज ८, बिहीबार

आधुनिक सुरक्षा विशेषतासहितको १ हजार रुपैयाँको नयाँ नोट आजदेखि बजारमा


नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा आधुनिक सुरक्षा विशेषतासहितको १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ‘सिरिज २०२५’ अन्तर्गतको यो नोट साविककै आकारमा तर रङ परिमार्जन गरी बजारमा ल्याइएको जनाएको छ। नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङको प्रयोग गरिएको छ।

नोटको अग्रभागका विशेषताहरू
चित्र तथा पानीछाप: अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप र ‘१०००’ अङ्कित पानीछाप राखिएको छ।

दृष्टिविहीनमैत्री: दृष्टिविहीन व्यक्तिले छुँदैमा नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ र तेर्सा रेखाहरूको व्यवस्था गरिएको छ।

सुरक्षण विशेषता: सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान सुरक्षण धागो राखिएको छ।

दस्तखत: यो नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ।

नोटको पृष्ठभागका विशेषताहरू
नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा ‘देवकली’ हात्तीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती (राम र लक्ष्मण) को चित्र अङ्कित गरिएको छ। त्यसैगरी, नेपालका सातवटा प्रदेशलाई प्रतिनिधित्व गर्ने सातवटा लालीगुराँसका चित्र र हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृतिसमेत राखिएको छ।

नयाँ नोटको संकेत नम्बर ‘९२०००००१’ बाट सुरु गरिएको छ। यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा आएको ‘सिरिज २०१९’ को १ हजार रुपैयाँको नोटको संकेत नम्बर भने ‘६८२००००१’ देखि ‘९१४४००००’ सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले प्रस्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट