पुरानो गहना साट्दा र सुनचाँदी ओसारपसार गर्दा के छन् राजस्व विभागका नयाँ नियम?
आन्तरिक राजस्व विभागले सुन, चाँदी तथा तिनका गरगहना बिक्रीमा लाग्ने ‘सीप प्रवर्द्धन शुल्क’ को प्रशासनलाई सरल र व्यवस्थित बनाउन नयाँ कार्यविधि जारी गरेको छ।
आर्थिक ऐनअनुसार अन्तिम उपभोक्तालाई बिक्री गरिने सुनचाँदी र गरगहनाको बिक्री मूल्यमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क अनिवार्य रूपमा असुल गर्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ कार्यविधि अनुसार पुरानो गहना साट्दा साविकको तौलभन्दा बढी भएमा मात्र थपिएको धातु र ज्याला-जर्तीमा यो शुल्क लाग्नेछ भने सर्वसाधारणले सुनचाँदी बिक्री गर्दा नागरिकता वा प्यान कार्डलगायतका परिचयपत्र र बिल पेस गर्नुपर्नेछ।
त्यस्तै, कालीगढले अनिवार्य रूपमा प्यान लिनुपर्ने र ओसारपसार गर्दा कार्यालयको छापसहितको चलान राख्नुपर्ने प्रावधान छ। व्यवसायीले प्रत्येक महिनाको विवरण र संकलित शुल्क अर्को महिनाको २५ गतेभित्र राजस्व शीर्षक ११४१३ मा दाखिला गर्नुपर्नेछ भने समयमा विवरण नबुझाएमा वा शुल्क छली गरेको पाइएमा बिलम्ब शुल्क, १५ प्रतिशत ब्याज तथा शतप्रतिशत (१००%) सम्म जरिवाना तिर्नुपर्ने कडा कानुनी व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस