घर कर्जा विस्तारमा सुस्तता, ब्याजदर घट्दा पनि माग खासै बढेन

चालु आवमा बैंक तथा वित्तीय संस्थाहरूले घर कर्जा दिने प्रक्रिया सस्तो भएको भए पनि कर्जा लिनेको संख्या अपेक्षित रूपमा बढ्न सकेको छैन । विगतमा वर्षा सुरु हुनु अघि बैंकहरूबाट घर निर्माणका लागि कर्जा लिनेहरू बढी हुने गर्थे भने चालु आवको चैत्र मसान्तसम्म घर कर्जा विस्तारमा साढे ४ प्रतिशतको अल्प वृद्धि मात्र देखिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको चैत्र मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ३ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको घर कर्जा प्रवाह गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४ दशमलब ५९ प्रतिशतले मात्र बढी हो । गत आवको सोही समयसम्म ३ खर्ब १० अर्ब ३३ करोड रुपैयाँ घर कर्जा प्रवाह गरिएको थियो ।
प्रभु बैंक टेकु शाखाका एक अधिकारीका अनुसार, बैंकहरूले एकल अंकको ब्याजदरमा घर कर्जा दिन थाले पनि कर्जा माग अझै अपेक्षित रूपमा बढ्न सकेको छैन । यसै कारण नेपाल राष्ट्र बैंकले २०८० साल साउनमा व्यक्तिगत घर कर्जाको सीमा डेढ करोड रुपैयाँबाट २ करोड रुपैयाँसम्म बढाएको थियो ।
ब्याजदर घट्दै गए पनि घर कर्जा विस्तार सुस्त हुनुको कारण अर्थतन्त्रमा आएको सुस्ती र ऋण तिर्ने क्षमता कमजोर हुनु रहेको विश्लेषकहरूले बताएका छन् । साथै, युवा पुस्ता पढाइ र रोजगारीको लागि विदेश जानु र विदेशमा बसेर घर बहालमा राख्नुका कारण नेपालमा नयाँ घर निर्माण कम भएको छ ।
वाणिज्य बैंकहरूको तथ्यांक हेर्दा २० मध्ये १४ बैंकले घर कर्जा विस्तार गरेका छन् भने ६ बैंकमा कर्जा रकम घटेको देखिन्छ । सबैभन्दा धेरै घर कर्जा एनआईसी एसिया बैंकले दिएको छ तर गत वर्षको तुलनामा यसको कर्जा १९.६६ प्रतिशतले घटेको छ । सबैभन्दा कम घर कर्जा नेपाल एसबीआई बैंकले दिएको छ ।
गत वर्षको तुलनामा घर कर्जा विस्तारमा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले २० प्रतिशत भन्दा बढीले कर्जा वृद्धि गरेका छन् भने नेपाल बैंक, एनएमबी बैंक, नबिल बैंक र सिटिजन्स बैंकले १० देखि २० प्रतिशतसम्म विस्तार गरेका छन्।
बैंकहरूको घर कर्जा ब्याजदर कस्तो छ?
अधिकांश बैंकहरूले घर कर्जा स्थिर ब्याजदरमा दिने गरेको पाइन्छ। ब्याजदर ५.९६ प्रतिशतदेखि १०.५० प्रतिशतसम्म फरक देखिन्छ। अधिकांश बैंकले सात वर्षसम्मको अवधिको लागि स्थिर ब्याजदर अफर गरेका छन् ।
नेपाल बैंकले सबैभन्दा कम ब्याजदर ५.९६ देखि ८.३८ प्रतिशतमा घर कर्जा दिइरहेको छ भने कृषि विकास बैंकको ब्याजदर ६.५२ देखि ८.५२ प्रतिशत छ । ग्लोबल आइएमई बैंकको ब्याजदर ६.५६ देखि १०.०६ प्रतिशत, एभरेष्ट बैंकको ६.६३ देखि ८.६३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.८२ देखि १०.२५ प्रतिशत, नेपाल एसबीआई बैंकको ७.३५ देखि ९.३५ प्रतिशत रहेको छ ।
सात वर्षसम्म स्थिर ब्याजदर अफर गर्ने अन्य बैंकहरूमध्ये सानिमा बैंक ८.१ देखि १०.१ प्रतिशत, लक्ष्मी सनराइज बैंक ८.४९ देखि ११.९९ प्रतिशत, सिद्धार्थ बैंक ८.४९ देखि ८.७५ प्रतिशत, कुमारी बैंक ८.५९ देखि १०.९९ प्रतिशत र प्रभु बैंक ८.९३ देखि १०.९३ प्रतिशतमा घर कर्जा दिन्छन् ।
नबिल बैंक ९.४९ प्रतिशत, एनएमबी बैंक ९.९९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंक १०.५ प्रतिशत ब्याजदर कायम राखेका छन् भने प्राइम बैंकले १० देखि १२ प्रतिशतसम्म ब्याजदर लिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस