सार्वजनिक संस्थानको नाफा घट्यो, लाभांश ३५ प्रतिशतले गिरावट

हाल मुलुकमा सञ्चालनमा रहेका ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ वटा मात्रै नाफामा छन् भने १६ वटा घाटामा र २ वटा पूर्ण रूपमा बन्द अवस्थामा रहेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा यी संस्थानहरूको समग्र आर्थिक प्रदर्शन अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार सार्वजनिक संस्थानको कूल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । यो कूल गार्हस्थ उत्पादन (जीडीपी) को ११.५७ प्रतिशत बराबर हो ।
सोही अवधिमा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोडमा सीमित भएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १२.८८ प्रतिशतले कम हो । नाफामा रहेका संस्थानहरूको मात्रै खुद नाफा ११.५० प्रतिशतले घटेको छ भने घाटामा रहेका संस्थानहरूको नोक्सानी ८.६५ प्रतिशतले बढ्दै ३ अर्ब ६३ करोड पुगेको छ ।
अझै गम्भीर पक्ष के छ भने, सरकारले सार्वजनिक संस्थानहरूबाट पाउने लाभांशमा पनि ठूलो गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० मा सरकारले १३ अर्ब ७५ करोड रुपैयाँ लाभांश पाएको थियो भने २०८०/८१ मा त्यो घटेर ८ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ, जुन ३५ प्रतिशतको गिरावट हो ।
आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले सार्वजनिक संस्थानहरूमा कुल ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ । यसमध्ये सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ ।
हाल सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २० वटा पूर्ण रूपमा सरकारी स्वामित्वमा छन् भने बाँकी २५ वटामा सरकारको बहुसंख्यक स्वामित्व रहेको छ ।
सार्वजनिक संस्थानको समग्र वित्तीय अवस्था कमजोर बन्दै गइरहेका बेला यसबारे थप सुधार र निगरानी आवश्यक देखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस